चितवन । जुम बैठक चलिरहेको बेला महिला कर्मचारीलाई तानेर यौनजन्य हर्कत गर्ने कृषि तथा वन विश्वविद्यालयका डीन जयप्रकाश दत्तलाई जोगाउने नियतले छानबिन समिति बनाइएपछि प्राध्यापकहरू नै असन्तुष्ट बनेका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन कृषि तथा वन विज्ञान विश्वविद्यालयले बिहीबार प्रेस वक्तव्य जारी गर्दै कार्यकक्षभित्रै अनैतिक हर्कत गर्ने डीनलाई निलम्बन होइन बर्खास्त गर्न माग गरेको छ । उपाध्यक्ष सरोज सापकोटा र सचिव डा. हिमाल लुइटेलले जारी गरेको विज्ञप्तिमा दत्तलाई बर्खास्त नगरे सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिइएको छ ।
संगठनले डीनजस्ता गरिमामय पदमा बसेको व्यक्तिले गरेको अश्लील हर्कत सामाजिक र कानूनीरूपमा बर्जित तथा दण्डनीय अपराध भएकाले प्राध्यापन पेशा र विश्वविद्यालयको गरिमा जोगाउन उनलाई बर्खास्त गर्नुपर्ने बताएको छ ।
छानबिनका लागि निलम्बन गर्ने भनेर उपकुलपति पुन्य रेग्मीले डीनलाई जोगाउन खोजेको आरोप कर्मचारीले लगाएका छन् । भिडिओमा सबै कुरा देखिएको विषयमा छानबिन गर्ने भन्नुको आसय जोगाउने रहेको एक प्राध्यापकले बताए ।
उनले भने, ‘अश्लील हर्कत गर्ने दत्त माओवादी नेता नै हुन् । माओवादीकै सेवा निवृत्त प्रा।डा। श्रवणकुमार साहको संयोजकत्वमा छानबिन समिति बनाइनुले उनलाई चोख्याउने योजना हो भन्ने सहजै बुझ्न सकिन्छ । उपकुलपति रेग्मी पनि माओवादी कोटाबाटै नियुक्त भएकाले यो सबै सेटिङ हो ।’
दत्तले मंगलबार जुम बैठक चलिरहेका बेला कार्यालय सहयोगी महिलालाई तानेर संवेदनशील अंग चलाउँदै चुम्बन गरेको भिडिओ बाहिरिएको थियो ।। (नेपाल प्रेस)








