
काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ मा गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उहाँमाथि मानहानीको मुद्दा दायर भएको थियो ।
गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।
एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? (सबै चोरको थर मोदी किन हुन्छ ? ’ भनी बोल्नुभएको थियो ।
राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा सो अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।
चार वर्षअघि दायर मुद्दामा बिहीबार अदालतले राहुललाई दोषी ठहर गरेको हो । सो फैसला आउँदा राहुल अदालतमा उपस्थित हुनुभएको थियो । गुजरात कांग्रेसका थुप्रै नेताहरू उहाँसग हुनुहुन्थ्यो । बाहिर समर्थकहरूले गान्धीको पक्षमा नारा लगाइरहेका थिए । फैसला अनुसार गान्धी एक महिनासम्म पक्राउ गरिनेछैन । यो बीचमा गान्धीले पुनरावेदन गर्न सक्नेछन् । (नेपाल प्रेस)