युक्रेनसँग शान्ति सम्झौता गर्न मस्कोलाई थप दबाव दिने प्रयासमा अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।
ट्रम्पले घोषणा गरेका प्रतिबन्धहरूको निशानामा रोसनेफ्ट र लुकोएल छन्।
हरेक पटक भ्लादिमिरसँग कुरा हुँदा उनीसँग राम्रो बातचित हुन्छ तर त्यसपछि त्यसको केही परिणाम आउँदैन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेटो महासचिव मार्क रटसँगको भेटपछि प्रतिक्रिया दिँदै भने।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुने भनिएको शिखर बैठक अनिश्चितकालका लागि स्थगित भएको बताएको एक दिनपछि ट्रम्पले नयाँ प्रतिबन्धको घोषणा गरेका हुन्।
बुधवार मात्रै रुसले युक्रेनमा चर्को बमबारी गर्दा बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पुटिनले व्यर्थको युद्ध अन्त्य गर्न अस्वीकार गरेका कारण नयाँ प्रतिबन्धहरू आवश्यक परेकोू बताएका छन्। उनले प्रतिबन्धमा परेका तेल कम्पनीहरूले क्रेमलिनको युद्ध मेसिनूलाई लगानी गरिरहेको टिप्पणी गरेका छन्।
तत्काल युद्धविरामका लागि अब हत्या रोक्ने समय आएको छ, उनले एक विज्ञप्तिमार्फत् भनेका छन्।
अमेरिकी राष्ट्रपति कार्यालय ओभल अफिसमा बुधवार नेटो महासचिव रटलाई आफ्नो छेउमा राखेर बोल्दै ट्रम्पले शान्ति स्थापनाका लागि गम्भीर नभएको भन्दै पुटिनको आलोचना गरे। प्रतिबन्धहरूले युद्ध अन्त्य गराउने आफ्नो प्रयासमा मद्दत गर्ने अपेक्षा उनले व्यक्त गरेका छन्।
हामीले लामो समय प्रतीक्षा गर्यौँ। मेरो बिचारमा अहिले त्यो समय आएको छ, ट्रम्पले भने।
नेटो महासचिव रटले पनि प्रतिबन्ध लगाउने कदमको प्रशंसा गरेका छन्। यसले पुटिनमाथि थप दबाव दिइरहेकोू उनले बताए।
तपाईँले पनि दबाव बढाउनुपर्छ आज उनले ९ट्रम्प० त्यही गरेका हुन्, रटले भने।
शान्ति सम्झौताका लागि अमेरिका र रुसले अघि सारेका प्रस्तावहरूमा ठूलो भिन्नता रहेको हालै सार्वजनिक भएको थियो। अहिले युक्रेनसँग अग्रपङ्क्तिमा भइरहेको युद्ध रोक्न मस्कोले अस्वीकार गर्नु पनि शान्ति सम्झौताको पहलले उपलब्धि हासिल नगर्नुको एउटा कारण रहेको ट्रम्पले सङ्केत गरेका छन्।
गएको साता यूकेले पनि हाल अमेरिकी प्रतिबन्धमा परेका कम्पनीहरूमाथि उस्तै खाले प्रतिबन्ध लगाएको थियो।
रुसी तेलका लागि विश्व बजारमा ठाउँ छैन, यूकेका चान्सलर रेचल रिभ्सले प्रतिबन्ध घोषणाका क्रममा भनेका थिए।
यूकेको घोषणापछि प्रतिक्रिया दिँदै लन्डनस्थित रुसी दूतावासले आफ्नो देशका प्रमुख ऊर्जा कम्पनीहरूलाई निशाना बनाउँदा विश्वभरि नै इन्धन आपूर्ति प्रभावित हुने र मूल्य बढ्ने बताएका थिए।
रोसनेफ्ट र लुकोएल तेल कम्पनीहरूले प्रति दिन ३१ लाख ब्यारेल तेल निर्यात गर्दै आएका छन्। यूकेको एक सरकारी आकलन अनुसार, रुसभरि हुने तेल उत्पादनको करिब आधा हिस्सा रोसनेफ्टले उत्पादन गर्दै आएको छ। यो कम्पनीले उत्पादन गर्ने तेल विश्वभरि हुने उत्पादनको छ प्रतिशत हो।
रुसी अर्थतन्त्रमा पर्न सक्छन् यस्ता प्रभाव
रुसले निर्यात गर्ने प्रमुख उत्पादनहरूमध्ये तेल र ग्यासले ठूलो हिस्सा ओगटेको छ। मस्कोसँग तेल किन्ने सबैभन्दा ठूला ग्राहकहरू चीन, भारत र टर्की लगायतका देश छन्। ट्रम्पले क्रेमलिनमाथि आर्थिक दबाव बढाउन रुसी तेलको खरिद रोक्न यी देशहरूलाई पनि आग्रह गरेका छन्।
यूकेकी विदेशमन्त्री इभेट कूपरले पनि ट्रम्पको कदमको प्रशंसा गरेकी छिन्।
युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लाइनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शान्ति प्रक्रियाका लागि रुसमा प्रतिबद्धता अभाव रहेको बताएकी छन्।
बुधवार युरोपेली सङ्घले अनुमोदन गरेको नयाँ प्रतिबन्धको पनि उनले प्रशंसा गरेकी छन्।
यसै वर्षको आरम्भमा यूके र अमेरिकाले रुसका प्रमुख ऊर्जा कम्पनीहरू ग्याजप्रोम नेफ्ट र सुर्गुट्नेफ्टोग्यासलाई पनि प्रतिबन्ध लगाएका थिए।
प्रस्तावित शान्ति योजनामा के छ
नेटो महासचिव रटले ह्वाइट हाउसमा नेटोका युरोपेली सहयोगीहरू र कीएभद्वारा तयार पारिएको १२ बुँदे शान्ति योजनाबारे बारेमा छलफल गर्ने अपेक्षा गरिएको थियो। उक्त योजनामा अहिले युद्ध चलिरहेको अग्रपङ्क्तिमा लडाइँ रोकेर देश निकाला गरिएका बालबालिकाहरूको फिर्ती र दुई देशबीच कैदी आदानप्रदान लगायतका प्रस्ताव छन्।
किएभले तयार गरेको योजनामा युक्रेनका लागि युद्धपछिको पुनर्निर्माण कोष, सुरक्षाका रणनीति र युक्रेनलाई ईयूमा सामेल हुने स्पष्ट मार्गचित्र र थप सैन्य सहायता अनि मस्कोमाथि अतिरिक्त आर्थिक दबावका विषय छन्।
ट्रम्प र पुटिनबीच पछिल्लो विवादको मुख्य विषय अग्रपङ्क्तिमा युद्ध रोक्न मस्कोले गरेको अस्वीकार भएको विवरण आएका छन्। ट्रम्पले अन्तिम पटक पुटिनलाई अलास्कामा भेटेका थिए। उक्त भेटमा ह्वाइट हाउसले द्वन्द्वको अन्त्य हुने आशा गरेको थियो। तर युद्ध रोकिएन।
ट्रम्पले पुटिनसँग भेट स्थगित गरेसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबिओ र रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभबीचको तयारी बैठक पनि स्थगित गरिएको छ। ट्रम्पले अग्रपङ्क्तिमा युद्ध रोक्ने प्रस्तावको समर्थन गरेका छन्।
तर रुसका सार्वजनिक धारणा त्यसको विपरीत देखिएका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसको अडान परिवर्तन नहुनेू बताएका छन्। उनले पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट युक्रेनी सेनाहरू फिर्ता हुनुपर्ने आफ्नो देशको चाहना रहेको सङ्केत गरेका छन्।
वाल स्ट्रिट जर्नलले अमेरिकाले रुसमा युक्रेनबाट हुने लामो दूरीको क्षेप्यास्त्र आक्रमणलाई अनुमोदन गरेको रिपोर्ट प्रकाशित गरेको थियो। तर ट्रम्पले बुधवार त्यसलाई मिथ्या समाचारू भने।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनालाई लामो दूरीमा प्रहार गर्न सक्ने अमेरिकी टोमहकु क्षेप्यास्त्रहरू आपूर्ति गर्ने इच्छा व्यक्त गरेका छन्। युद्धमा ती अस्त्रको प्रवेशले रुसलाई वार्तामा बस्न बाध्य पार्ने उनको तर्क छ।
बिबिसि नेपाली








