अर्जेन्टिनाका राष्ट्रपतिमाथि ढुंगा र बोतल प्रहार

सर्वज्योति
  • ख-
  • ख+

बुएनोस आयर्स । अर्जेन्टिनाका राष्ट्रपति जाभियर माईलीलाई मध्यावधि निर्वाचन प्रचारका क्रममा आक्रमण भएपछि सुरक्षा निकायले सुरक्षित स्थानतर्फ लगेका छन्।
बुएनोस आयर्सको लोमास दे जामोरामा चुनावी अभियानका क्रममा गाडीको पछाडिबाट हात हल्लाइरहेका बेला माईलीमाथि प्रदर्शनकारीहरूले ढुंगा र बोतल प्रहार गरेका थिए। कम्तीमा एक ढुंगा गाडीको बोनटमा लागेको र अरू वस्तुहरू पनि उनको टाउकोमाथि फ्याँकिएको देखिएको बताइन्छ।
घटनापछि उनका समर्थक र विरोधीबिच धक्का(मुक्की भएको र एक समर्थकको छातीमा चोट लागेको एएफपी समाचार एजेन्सीले जनाएको छ। तर राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुअल अडोर्नीले भने कसैलाई गम्भीर चोट नलागेको बताएका छन्।
घटनापछि राष्ट्रपति माईलीले सामाजिक सञ्जालमा आफ्नो ‘थम्ब्स अप’ फोटो पोष्ट गर्दै विपक्षीलाई हिंसामा संलग्न भएको आरोप लगाएका छन्। उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगेको थियो।
माईली त्यतिबेला आफ्नी प्रमुख सल्लाहकार तथा बहिनी करिना माईलीसहित अभियानमा सहभागी थिए। उनले समर्थकसँग भेटघाट गर्दै पुस्तकमा हस्ताक्षर गरिरहँदा आक्रमण भएको हो।
राष्ट्रपति कार्यालयले ढुंगा र बोतल फ्याँक्नेहरू विपक्षी दलका समर्थक भएको दाबी गरेको छ। लोमास दे जामोरा परम्परागत रूपमा विपक्षी पेरोनिस्टहरूको गढ मानिन्छ।
बुएनोस आयर्स प्रान्तमा आगामी सेप्टेम्बर ७ मा स्थानीय चुनाव र अक्टोबर २६ मा मध्यावधि निर्वाचन हुँदैछन्, जसलाई राष्ट्रपति माईलीले विपक्षी क्षेत्रहरूमा आफ्नो प्रभाव विस्तार गर्ने अवसरका रूपमा हेरेका छन्।
स्जेन्सी

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?