लम्जुगं । मर्स्याङदी गाउँपालिका स्थित खुदी प्रहरीले चोरी डकैतीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
मर्स्याङदी गाउँपालिका र बेसीशहर आसपासमा चोरी डकैती गर्दै हिडेका मर्स्याङदी बुद्वबजारका २८ बर्षिय काजी तामाङ, उक्त स्थानका सन्तोष परियार (सोनाम) र बेसीशहर ६ भलामखोलाका २० बर्षिय सुजन तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेका हुन् ।
खुदी प्रहरी चौकीका ईन्चार्ज सई प्रेमचन्द्र शर्माका अनुसार चोरीमा संलग्न मर्स्याङदी ३ बुद्वबजारका २५ बर्षिय किरण तामाङ फरार छन् । उनको खोजी कार्य भैरहेको छ ।
उनीहरूले बेसीसहर चामे सडक निर्माण कम्पनी आशिष अनेष्टका जेभीको तारजाली, रड, फलाम लगायतका सामाग्री चोरी गरेर लैजादै गर्दा रङगेहात समातिएको सई शर्माले जानकारी दिनुभयो ।
बेसीशहर ६ मालेबगरको गोदामबाट २ सय १० केजी जाली चोरेर मर्स्याङदी ९ गैरीफाँटमा रहेको कवाडी पसलमा बेचिएको पाईएको प्रहरीले जनाएको छ । करिव ३ लाख पर्ने सामान कवाडी सञ्चालक बलबहादुर परियारले ७ हजारमा किनेर लुकाएका थिए ।
सामान किनेर थोत्रा कागाज, प्याक र बोराले छोपेर लुकाएको अबस्थामा बरामद गरिएको सई शर्माले जानकारी दिनुभयो । आशिष अनेष्ट जेभीका ईन्जिनियर सन्तोष सुवेदीले पटक पटक गरेर कम्पनीको नौ लाख बरबरको सामाग्री चोरी भएको बताउनु भयो ।
खुदी प्रहरी चौकी ईन्चार्ज शर्माले कबाडी सञ्चालकहरूको मिलेमतोमा फलाम, जाली लगायतका सामाग्री चोरी भएको हुनसक्ने आशंका गरका छन् । यसअघि पनि पालिकाका विभिन्न स्थानका मठमन्दिरबाट दियो, कलस, घण्टा, गाग्रीलगायतका समाग्री चोरी भएका थिए ।
पक्राउ परेकाहरुको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलले जानकारी दिनुभयो । पछिल्लो हप्ता बेसीशहर र वरपर सुनका गरगहना चोरी बढेको छ ।
केही दिनअघि बेसीशहरको बालकुमारी अधिकारीको घरबाट १२ तोला सुनका गहना चोरी भएको थियो । त्यसको केही दिनपछि बेसीशहर चनौटेका ४ घरबाट १० तोला सुन र ९ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।
(साभारः मर्स्यागंदी समाचार)








