लमजुङमा नौसय भन्दा बढि काठको पोल विस्थापन

  • ख-
  • ख+

६ भाद्र । लमजुङ । लमजुङमा विद्युत वितरण हुँदै आएका नौसय काठका पोल विस्थापन भएको छन् । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जिर्ण अवस्थामा रहेका नौसय बढि पोल विस्थापित गरी फलामको पोल राखेको हो ।

गत वर्ष मात्रै उपभोक्ता समितिबाट विद्युत वितरण जिम्मा लिएको प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा रहेका जिर्ण काठका पोल परिवर्तन गरी फलामको पोल राखेको जनाएको छ । प्राधिकरणले काठको विद्युत पोल जिर्ण हुँदा जोखिमसँगै विद्युत वितरणमा समेत समस्या भएपछि सवै जिर्ण पोललाई हटाएर फलामको विद्युत पोल राख्न शुरु गरेको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले बताए ।

जिल्लामा विद्युत वितरणका लागि प्रयोगमा रहेका प्राय सवै काठका पोलहरु जिर्ण रहेको र सवै काठका पोल हटाउने क्रम शुरु भएको कार्यालय प्रमुख भट्टराईको भनाई छ । जिल्लामा अझै दुईहजारको हाराहारीमा जिर्ण काठको पोल रहेको र सवै विस्थापनको क्रममा रहेको कार्यालयले जनाएको छ ।

‘लमजुङ विद्युतका लागि हव नै हो, तर वितरणमा समस्या छ’ भट्टराईले भने ‘वितरणको मुख्य समस्या जिर्ण काठको पोल भएकोले त्यसलाई परिवर्तन गर्न थालेका हौँ ।’

जिल्लामा पर्याप्त विद्युत भएपनि अत्याधिक ट्रिपिङको समस्या भएपछि कार्यालयले विद्युत सहज बनाउन नयाँ ट्रान्सफर्मरको समेत व्यवस्था गरेको वितरण केन्द्रले जनाएको छ । कार्यालयले हालसम्म नयाँ र पुराना गरी ४७ वटा ट्रान्सफर्मर जडान गरीसकेको जनाएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका केहि पुराना ट्रान्सफर्मर परिवर्तन गरी नयाँ ट्रान्सफर राखिएको र र कतिपय स्थानमा विद्युत वितरण सहज बनाउन नयाँ ट्रान्सफर्मर समेत राखिएर विद्युत वितरण सहज बनाईएको कार्यालय प्रमुख भट्टराईको भनाई छ ।

यसअघि भएका ट्रान्सफर्मरहरुबाट अत्याधिक लामो विद्युत वितरण हुँदा अत्याधिक समस्या हुने र समस्या भएका बेला कुन स्थानमा समस्या भएको हो सो पहिचान गर्नै समय लाग्ने भएको थियो । हाल नयाँ ट्रान्सफर्मर राखिएपछि कुनै एक ठाँउमा समस्या भएमा पनि त्यसको प्रभाव जिल्ला भरी नहुने प्राधिकरणले जनाएको छ ।

‘यसअघि एउटै ट्रान्सफर्मरले धेरै विद्युत वितरण भएको थियो, जसले नियमित समस्या हुने तथा फल्ट पहिचान गर्न पनि कठिन थियो’ भट्टराईले भने ‘अहिले भौगोलिक अवस्थालाई मध्यनजर गरेर ट्रान्सफर्मर थपेका छौँ, अव पहिला जस्तो समस्या हुँदैन ।’

कमजोर संरचनाका कारण बर्षाको सिजनमा विद्युत जानेआउने हुँदा प्रत्येक वर्ष उपभोक्ताहरु समस्यामा पर्दै आएका छन् । जिल्लामा विद्युत उत्पादन बढि र सो अनुसारको संरचना नहुँदा विद्युत ट्रिपिङको समस्या भोग्नुपरेको कार्यालयको दावि छ ।

गत वर्षहरुमा जिल्लामा भएको विद्युतीय समस्यामा तत्कालिन उपभोक्ता समितिको लापरवाहि भएको भन्दै चर्को विरोध भएको थियो । विद्युत उपभोक्ता सँस्थाले सेवा प्रवाह गर्न नसकेको भन्दै खारेजीको लागि दवाव बढेपछि गत वर्षदेखि विद्युत वितरणको जिम्मा प्राधिकरणले लिएको हो । हाल प्राधिकरणले सेवा प्रवाहको जिम्मा लिएपछि संरचना सुधारलाई पहिलो प्राथमिकतामा राखेको र सोहि अनुसार काम भईरहेकोले आगामी वर्षबाट यस्तो समस्या नहुने कार्यालयले जनाएको छ ।

लमजुङमा मात्रै हाल साना ठुला आयोजनाबाट २ सय ४० मेगावाट भन्दा बढि विद्युत उत्पादन भईरहेको छ । उत्पादित विद्युतलाई उदिपुरस्थित सवस्टेशनबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । सो बाहेक जिल्लाका लागि भने ११ केभिको प्रशारण लाईन मार्फत वितरण भईरहेको छ । (साभारः मर्स्याङदी समाचार)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्