शुक्रबार काठमाण्डौमा नारायण रायमाझीको एकल साँझ

  • ख-
  • ख+

काठमाडौं । गायक तथा सर्जक नारायण रायमाझी आगामी शुक्रबार आफ्नो पहिलो एकल साँझमा प्रस्तुत हुँदैछन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ‘नारायण रायमाझी सांगीतिक साँझ-२०८०’ नाम दिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कलाकारको सम्मान, लोककला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस वर्षबाट सांगीतिक साँझ कार्यक्रमको सुरुवात गरिएको दोहोरीगीत प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार सांगीतिक साँझको तयारी अन्तिम चरणमा पुगेको छ ।

झण्डै चार दशक लामो करिअरमा रायमाझीले थुप्रै सांगीतिक सिर्जना श्रोतालाई दिएका छन् । उनी फिल्म निर्माण र निर्देशनमा समेत सक्रिय छन् ।

रायमाझीका अनुसार सांगीतिक साँझमा तीन चरणको प्रस्तुति रहनेछ । पहिलो चरणमा गीति नाटक (अपेरा) प्रस्तुत हुनेछ । यसमा रायमाझीका गीतलाई दर्शकले नृत्य र अभिनयमा समेत हेर्न पाउनेछन् । थिएटरका कलाकारदेखि नृत्यकारहरु गीति नाटकमा समावेश हुँदैछन् । काठमाडौं बाहिरबाट समेत कलाकारहरु आएर रिहर्सल गरिरहेका छन् । ४५ देखि ५० मिनेट गीति नाटक प्रस्तुत हुने रायमाझीले बताए ।

दोस्रो चरणमा रायमाझीका गीतमा उनलाई अन्य थुप्रै कलाकारहरुले स्वरमा साथ दिनेछन् । छोटो समयमा धेरै गीतलाई समेट्नका लागि अहिलेका चर्चामा रहेका कलाकारहरुको मिक्स स्वरमा नयाँ तरिकाको प्रस्तुति रहने रायमाझीले जानकारी दिए । अहिलेका चलेका लोकदोहोरी गायक तथा गायिकाको स्वर यो चरणमा दर्शकले सुन्न र हेर्न पाउनेछन् ।

तेस्रो चरणमा रायमाझीले लगातार एक दर्जन गीतहरु प्रस्तुत गर्नेछन् । यस चरणमा कतिपय गीतमा अन्य कलाकारहरुको समेत साथ रहनेछ । मूलतस् लोकगीत गाउने र सिर्जना गर्ने रायमाझीका आधुनिक र फिल्मी गीत पनि निकै रुचाइएका छन् ।

सोही सांगीतिक साँझबाट रायमाझीको निर्देशन रहेको दशैंमा प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’ को प्रचारप्रसार पनि सुरु गरिनेछ ।

सांगीतिक साँझ दिउँसो १ बजेबाट सुरु हुनेछ । यसमा टिकटको व्यवस्था गरिएको छैन । दोहोरीगीत प्रतिष्ठानले सहभागीका लागि पासको व्यवस्था गरेको छ । प्रज्ञा प्रतिष्ठानको हलभित्र भीड भए बाहिर चौरमा स्क्रिनमार्फत समेत कार्यक्रम हेर्ने र सुन्ने व्यवस्था मिलाइने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्