निद्रा के हो र शरीरलाई यो किन आवश्यक ?

  • ख-
  • ख+

प्रकृतिले मानिसलगायत अन्य प्राणी र वनस्पतिलाई खाने, काम गर्ने, आराम गर्ने र सुत्ने अलग-अलग समय प्रदान गरेको छ । उसैले समयमा खान, खेल्न, शरीरिक परिश्रम गर्न, रमाउन र गहिरो निद्रा लिएर स्वस्थ रहने व्यवस्था मिलाएको छ ।
प्रकृतिले मानिसलगायत पशुप्राणी र वनस्पतिलाई बाच्न र स्वस्थ जीवन जिउन सहज होस् भनेर नै रात र दिनको व्यवस्था गरेको हुनुपर्छ । जसरी हामीलाई पोसिलो खाना, शुद्ध हावा र पानी आवश्यक हुन्छ त्यसरी नै गहिरो निद्रा पनि । संसारका धेरै मानिसहरु निद्रा नलाग्ने समस्याबाट ग्रसित छन् ।

मानव अरु प्राणीभन्दा धेरै सक्रिय रहने, लामो समय काम गर्ने र सफलता हात पार्ने दौडमा हुन्छ । ऊ रातदिन नभनी काममा व्यस्त रहन्छ । समयमा स्वस्थवर्द्धक खानेकुरा खान र समयमा सुत्न या निदाउँनसम्म बिर्सिन्छ । यस्तो मेहेनतबाट उसले आर्थिक र सामाजिक हैसियत त बनाउँछ तर स्वस्थ्य भने धेरैको बिग्रिसकेको हुन्छ । यसै प्रसंगमा दलाई लामाले भनेका छन्- मानिस सम्पत्ति कमाउन, समाजमा आफ्नो नाम कमाउन रातदिन नभनी काम गर्छ । समयमा खान, सुत्न, खुसी हुन,रमाउन, गहिरो निद्रा लिन बिर्सिन्छ । जब शरीर बिरामी पर्न थाल्छ त्यही कमाएको सम्पत्ति लिएर उपचारमा लाग्छ । केहि छाडेर धेरैले न जीवनको आनन्द लिन पाउँछन्, न स्वस्थ्य रहन सक्छन् । अन्त्यमा पैसा पनि सकिन्छ स्वास्थ्य पनि पूर्ण ठीक हुँदैन । हो आजको समयमा धेरै मानिसको यही अवस्था छ ।

निद्रा के हो ?

निद्रा एक प्रकारले केही समयका लागि जीवनका सबै कुराहरु बिर्सिएर विश्रामको अवस्था हो । प्रकृतिद्वारा नियोजित तथा निर्धारित स्थितिको नाम हो निद्रा । यसलाई कति विद्वान्‌ले त एक प्रकारको छोटो मृत्यु हो भनेका छन् । औसत ६ देखि ८ घण्टासम्म हामी कुनै पनि प्रकारको दुःख, पीडा, भोक, प्यास, श्वासप्रश्वास, धड्कन या अन्य केही महसुस गर्न सक्दैनौं । शरीर एक प्रकारले मानौं मृतजस्तो अवस्थामा रहन्छ । तर धिमी रुपमा श्वासप्रश्वास, मुटुको धड्कन, एकदमै कम मात्रमा पाचनक्रिया र शरीररको वृद्धि विकास भने चलिरहन्छ जनु हामीले थाहा पाउँदैनौं । यो अवस्थामा हामीले हामीभित्र रहेका या गुम्सिएर बसेका जीवनमा कुनैबेला महसुुस गरेका या नगरेका घटनाहरु सपनामार्फत बाहिर आउँछन् । यसलाई आत्माको जागरण भनेर पनि कति विद्वान्‌ले व्याख्या गरेको पाइन्छ । त्यसैले निद्रा भनेको शरीर र मनमस्तिष्कको शुद्धीकरण, शक्ति सन्तुलन र हर्मोनहरूलाई सामान्य अवस्थामा ल्याएर भोलिका लागि नयाँ जीवन प्रदान गर्ने प्राकृतिक नियम हो । र सपना भनेको अवचेतन मनमा बसेका विभिन्न अतृप्त इच्छा‚ आकांक्षा बाहिर निस्किने माध्यम हो । अथवा यस्ता दबिएर बसेका अतृप्त इच्छा सपना बन्ने गर्छन् । र सपना देख्न निदाउनैपर्छ र यो आवश्यक पनि हो । जीवन बदल्ने सपना विपनामै बन्दछन् भने शरीरभित्र गुम्सिएर बसेका कुराहरु निदाएर देखिने सपनामार्फत बाहिर आउँछन् । निद्रा लगाउने हर्मोन उत्पादन गर्ने ग्रन्थीको नाम हो पीएनएल । यो ग्रन्थी जीवनभर सक्रिय रहन्छ । तर उमेरसँगै केहि कम सक्रिय रहँदा बुढेसकालमा कम समय निद्रा लाग्छ ।
निद्रा कसरी र किन लाग्छ भन्ने विषयमा विभिन्न वैज्ञानिक खोजहरू भए । विभिन्न अनुसन्धानहरू गरिए । निदाएका मानिसका शरीरमा अनेक प्रकारका परीक्षण गरिए । शास्त्रहरूको गहिरो अध्ययन गरियो । अन्त्यमा निद्रा हाम्रो शरीरको एउटा महत्त्वपूर्ण आवश्यकता हो, प्रकृतिद्वारा नियोजित तथा निर्धारित स्थितिको नाम हो, निद्राको आवश्यकता हामीलाई स्वस्थ राख्न प्रकृतिले प्रदान गरेको उपहार हो भन्ने निष्कर्षमा पुगियो । हाम्रो शरीरलाई स्वस्थ राख्न र वृद्धिविकास गर्न विभिन्न प्रकारका हर्मोनको निष्कासन शरीरमा रहेका विभिन्न ग्रन्थीमार्फत हुने गर्छ । यी हर्मोनले शरीरको आवश्यकता‚ जस्तैः भोक, निद्रा, मैथुन, शरीरको विकास, खुसी, आनन्द, सेवा सत्कार, ज्ञान आर्जन, परोपकारी भावनाको विकास, आपत्‌काललगायत अनेक विषयको सम्बोधन गराउँछन् ।

आजसम्मको अध्ययन र अनुसन्धानअनुसार हाम्रो शरीरमा उत्पादन हुने ल्याक्टिक एसिड नामक तत्त्वले शरीरमा सक्रियता ल्याउँछ । यसको उत्पादनमा कमी भएमा शरीरमा थकान महसुस हुन्छ । यो तत्त्व विशेष गरेर बिहान र दिउँसो धेरै उत्पादन हुन्छ र हामी काममा मन लगाउँछौं । अथवा काम गर्न मन लाग्छ । यसको उत्पादनमा कमी आएमा आलस्य आउँछ । काम गर्न मन लाग्दैन । कोर्टिसोन हर्मोन अचानक आउने या देखापर्ने असहज अवस्था या तनावलाई म्यानेज गर्न वृद्धि हुन्छ । तर लामो समय यही अवस्था रहिरहेमा कोर्टिसोनले शरीरमा हानी पुर्‍याउँछ । यसरी नै खुसी हुने या खुसी रहन सक्ने हर्मोन सेरोटोनिन हो । यसको उत्पादनमा कमी आएमा खुसी हुन या रमाउन कठिन हुन्छ । यता सेक्स हर्मोनहरुको कमी भएमा यौनमा कमी आउछ जसले नैराश्य आउन सक्छ । हो यसरी नै निद्रा लगाउने हर्मोन हो मेलाटोनिन । यो हर्मोन बेलुका हुँदै गएपछि बढ्दै जान्छ र ल्याक्टिक एसिड कम हुँदै जान्छ । त्यसैले जति बेलुका हुँदै गयो शरीर शिथिल हुँदै जाने र निद्रा लागेको महसुस हुन्छ । हुन त भोक लागेको बेलामा पनि मस्तिष्कमा गुलकोजको मात्रा घट्न गएर आलस्य आउँछ र खान खाएको केहि समयपछि पनि आलस्य देखापर्छ । तर यो म्यानेजमेन्टको पाटो हो र क्षणिक हुन्छन् । तर हामी सुतेपछि मजाले गहिरो निद्रामा रहनका लागि मेलाटोनिन हर्मोनको आवश्यकता पर्दछ । यही हर्मोनको कमी भएमा निद्रा कम भएर जान्छ र राती राम्रोसँग निदाउन सकिँदैन । निदाए पनि गहिरो निद्रा पर्दैन र हामी विभिन्न सपना देख्ने गर्छौं । र हाम्रो शरीरमा हुने प्राकृतिक शुद्धीकरण पनि राम्रोसँग हुन पाउँदैन । बिस्तारै हामी रोगको सिकार हुँदै जान्छौं । त्यसकारण पनि मेलाटोनिन हर्मोनको आवश्यक उत्पादन हुनु अनिवार्य हुन्छ ।

मेलाटोनिन हर्मोनको उत्पादनमा कमी आउने विभिन्न कारण हुन्छन् । यस्ता कारणहरू हामीबाटै जानी नजानी उत्पन्न भइरहेका हुन्छन् । प्रकृतिले मानिसलाई दिउँसो काम गर्न, खान, घुम्न, रमाउन र राति सुत्न अथवा निदाउन दिन र रातको व्यवस्था मिलाएको मानिन्छ । यदि हामी यो नियमलाई उल्लंघन गर्छौं भने पक्कै पनि निद्रालगायत अरु शरीरिक समस्याबाट पनि ग्रसित हुन पुग्छौं । जो आजकल धेरै मानिसमा देखिएको छ । शरीरिक परिश्रम त छँदै छ मानसिक तनाव अनि मादिरालगायत गरिष्ठ भोजन या शरीरिक परिश्रम शून्य भएको अवस्थामा पनि यो हर्मोनको निष्कासन कमी हुन पुग्छ‚ जसका कारण निद्रा नलाग्ने सम्भावना वढी रहन्छ ।

निद्रा नलाग्ने अरु कारणमा सुत्ने समयको एकरुपता नहुनु हो । साँझ परेपछि २ घण्टापछिको समयलाई सुत्नका लागि सबैभन्दा उत्तम समय मानिन्छ । पहिले पहिले यही हुन्थ्यो । मानिसहरू बेलुकाको ८ नबज्दै ओच्छयानमा गइसक्थे । बिजुली थिएन । टुकी निभाएपछि अन्धकार हुन्थ्यो । जति अन्धकार र सुनसान हुन्छ त्यति नै मेलाटोनिन हर्मोन रिलिज हुन्छ जसले गहिरो निद्रा लगाउन सघाउँछ । तर आजको समय त्यस्तो छैन । साँझ परेर बल्ब बालेपछि मात्र भान्सामा खाना बनाउन सुरु गरिन्छ । खाना खाँदा खाँदै ८, ९ वा १० बजिसक्छ । खानेबित्तिकै सुत्ने पनि कुरा भएन । तुरुन्तै सुत्नु स्वास्थ्यका लागि हानीकारक हुन्छ । खाना खाएको कमसेकम २ घण्टापछि मात्र सुत्नु उत्तम मानिन्छ । यसको अर्थ त्यस्तै १०, ११ या १२ बजिहाल्छ । त्यतिबेलासम्ममा प्राकृतिक रुपमा निस्कने मेलाटोनिन हर्मोन पनि विचलित हुन्छ । राम्रोसँग निस्किन सक्दैन । फलस्वरुप गहिरो र कमसेकम ६ घण्टा सुताइ नहुन सक्छ । फेरि बिहानको आफ्नो दैनिकी कतिबेला सुरु हुनेवाला छ त्यहीअनुसार शरीराम सक्रिय हुने लेक्टिक एसिडको सिक्रिसन बढ्न थाल्छ । त्यसैले पनि बिहान चाँडै निद्रा खुल्छ र हामी उठ्न बाध्य हुन्छौं । यसरी दिनहुँजसो यही क्रिया दोहोरिन गएमा हाम्रो स्वास्थ्य कस्तो होला रु हामी कल्पना गरौँ । आजकल ८० प्रतिशत मानिसमा यही चलिरहेको छ । राम्रोसँग निद्रा नलाग्ने कारणमा समयमा नसुत्ने एउटा प्रमुख कारण देखिएको छ । त्यसैले सुत्ने समय बेलुका जतिसक्दो चाँडो हुनुपर्छ र बिहान चाँडै उठ्नुपर्छ । यो बानीले हामीलाई स्वस्थ रहन प्रमुख भूमिका खेल्छ ।

निदाउन अपनाइने तरिकाहरू धेरै छन् । जस्तै चाँडै सुत्ने । सुत्ने ओच्छ्यान सफा र सिरानी पूर्व या दक्षिण हुनुपर्छ । सुत्ने खाट या पलङलाई सुत्नका लागि मात्र प्रयोगमा ल्याउनुपर्छ । धेरै अग्लो र बिजाउने सिरानी हुनु हुँदैन । सुत्ने कोठामा बाहिरको उज्यालो सकेसम्म नआउने र बत्ति निभाउँदा पूरै अध्यारो हुनुपर्छ । उज्यालो चाहिने नै भए रातो बल्ब राख्नुपर्छ । यसले मेलाटोनिन हर्मोन उत्पादनमा सघाउँछ । नीलो, सेतो आदि बल्बले हर्मोन उत्पादनमा असर पुर्‍याउँछन् । आवाज सकेसम्म नआउने हुनुपर्छ । सुत्दा साँघुरो गरी या घुर्ने साथी भए निद्रा बिग्रिन सक्छ । सजिलै निद्रा नआउने मानिसले चाँडै सुत्नमा जोड गर्नु राम्रो हुन्छ । साँझ परेपछि विशेष गरेर कफी पिउनु हुँदैन । यसले मेलाटोनिनलाई कम गराउँछ । सुत्ने कोठाको तापक्रम १६ देखि २० डिग्री सेल्सियस भएमा उत्तम मानिन्छ ।

सुत्नुअघि मेडिटेसन गर्नु, दुई घण्टा अगाडि मनतातो पानीले नुहाउनु राम्रो मानिन्छ । सुत्नुअघि सकारात्मक कुराहरु मनमा ल्याउनु, सेवा, दान र अरुको सहयोगजस्ता कुराको सञ्चार भएमा मन खुसी हुन्छ । यसले शरीरमा सकारात्मक प्रभाव बढी देखिन्छ र कोर्टिसोन नामक तनाव बढाउने हर्मोन लेबल शरीरमा घटेर जान्छ । मेलाटोनिन हर्मोन बढेर आउँछ र मीठो निद्रा लाग्छ । कुनै सुन्दर सिनेमा हेर्ने या सकारात्मक पुस्तक पढ्ने गर्नु पनि निद्रा ल्याउने उपाय हुन् । यसरी नै सुत्ने पोजिसनको पनि ठूलो भूमिका रहन्छ । सबैभन्दा राम्रो देब्रे कोल्टे सुत्नुलाई मानिन्छ । यसले शरीरमा रक्तसञ्चार पनि नियमित राख्छ । यस्तो हुँदा मुटुको गति नियन्त्रण गर्छ‚ पाचन राम्रो हुन्छ र डराउने सपनाहरू कमै देखिन्छ । दोस्रो उत्तम सुताइ भनेको उत्तानो सुत्नु हो । मोटा मानिस र नाकको समस्या हुनेहरु यो पोजिसनमा घुर्न सक्छन् । तर पनि दाहिने कोल्टे र घोप्टो सुत्नु भन्दा राम्रो मानिन्छ । दाहिने कोल्टे सुत्नु उत्तम मानिदैन । यो सुताइले पाचन विग्रिने र रक्तसंचारमा समस्या आउने हुन्छ । गहिरो निद्रा आए पनि असहज हुन सक्छ । यसरी नै घोप्टो सुत्नु मात्र स्वासप्रस्वासको समस्यालाई सहज बनाउन सघाउँछ । यो बाहेक घोप्टो सुताईले अरु फाइदा नहुने बैज्ञानिको बुझाई छ । तर पनि हरेक व्याक्तिको आफ्नै रुची र सहजता हुने हुँदा यही पोजिसन सबैलाई उत्तम हुन्छ भन्न कठिन हुन्छ । चाहे जे होस मानिसले स्वस्थ रहनु छ भने समयमा खाने । ठिक्क खाने र सकेसम्म चाडो आफ्नो सहजताअनुसार सुत्नु राम्रो हो ।

आजको समयमा धेरै मानिसहरु निद्रा नलाग्ने समस्या लिएर डाक्टर, धामी‚ वैद्यकोमा धाएको देख्न सकिन्छ । के कारणले निद्रा लागेन भनेर कारण खोज्नु उचित हुन्छ । वैज्ञानिक अनुसन्धानअनुसार शरीरमा कम र खुकुला कपडा लगाएर सुत्नुपर्छ । अझ बिनावस्त्र सुत्नु उत्तम मानिए पनि पूर्वीय सभ्यतामा यसलाई राम्रो मानिँदैन । धेरै मानिसमा निद्रा नलाग्ने मनोवैज्ञानिक कारणहरू पनि हुन सक्छन् । वंशाणुगत समस्याहरू पनि हुन सक्छन् । राम्रो निदाएर पनि आफू निदाउन नसकेको भान पनि हुन सक्छ । कसैलाई डराउने सपना आएका कारण, यौन असन्तुष्टिका कारण, पारिवारिक तनाव या एक्लै बस्नुपर्ने कारणले पनि निद्रा नआएको हुन सक्छ । यस्तो भएमा कारणहरुको बिस्तारै सामाधान खोज्नुपर्दछ । जीवन भनेको भोग्न आइएकै हो । सहज रुपमा भोग्नुपर्दछ । खाली हात र नांगै आएको अनि उस्तै जाने हो भन्ने कुराको स्मरण सधैँ रहनुपर्दछ । धनसम्पति भनेको साधनमात्र हो भन्ने बुझ्नुपर्दछ ।

उमेर अनुसार कति घण्टा निदाउनुपर्छ भन्ने कुरा जान्नु पनि आवश्यक हुन्छ । हुन त हरेक मानिसमा यति नै घण्टा सुत्नुपर्छ भन्ने हुँदैन । उसको काम, शरीरिक सक्रियता र खाना आदिमा पनि भर पर्दछ । भरखर जन्मिएको शिशु औसतमा १६ देखि १८ घण्टासम्म निदाउँछ । शिशु ४ वर्षको हुँदा ११ देखि १२ घण्टा निदाउँछ । विद्यालय जाने बच्चा १० देखि ११ घण्टा‚ युवक ८ देखि १० घण्टा निदाउँछ भने वयस्क ७ देखि ८ घण्टा अनि वृद्धवृद्धा ५ देखि ६ घण्टा औसतमा निदाउँछन् अथवा निदाउनुपर्छ । यसमा पनि गहिरो निद्रा भए केहि कम समयले पनि निद्रा पुग्छ । यदि ब्युझिँदै-निदाउँदै गरेको अवस्थामा भने ८ घण्टा सुते पनि फ्रेस नभएको महसुस हुन्छ ।

त्यसैले निद्रा भनेको जीवनको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता हो । कसरी निदाउने र कति निदाउने भन्ने कुरा हाम्रै हातमा हुन्छ । केहि असहज अवस्थाबाहेक हाम्रो जीवनको मालिक हामी नै हौं । हामीले जसरी चलायो, जे सोच्यो, जे खायो शरीरले त्यसैको प्रतिक्रिया शरीरले दिने हो । हामीले असल सोच र समान्य तर सफल जीवन जिउने बाटो अँगाल्यौँ भने स्वास्थ्य पनि राम्रो रहन्छ । गहिरो निद्रा पनि आउँछ । सुखी जीवन पनि जिउन सकिन्छ ।
(कान्तिपुर दैनिक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्