प्रमुख प्रशासकीय अधिकृतमा खटिन इच्छुकले भदौ २८ गतेसम्म निवेदन दिन आव्हान

  • ख-
  • ख+

२४ भाद्र । काठमाडौं । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटिन इच्छुक कर्मचारीले भदौ २८ गते बिहिबारसम्म निवेदन दिइसक्नुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिका तथा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा खटिन इच्छुक नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह राजपत्रांकित द्धितीय र तृतीय श्रेणीका कर्मचारीले आफ्नो अद्यावधिक वैयक्तिक विवरणसहित भदौ २८ गतेसम्म मन्त्रालयमा निवेदन दिइसक्नुपर्ने जनाएको हो ।

रिक्त स्थानीय तहको प्राथमिकतासहित कामकाजमा खटिन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखामा वा शाखाको इमेलमा निजामती सेवा नियमावली २०४९ को अनूसूची नौ बमोजिम निवेदन पेश गर्न सूचना जारी गरिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता कमलप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा चार बमोजिम मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत कामकाजमा खटाउने व्यवस्था रहेको छ । त्यसै व्यवस्था अनुसार रिक्त स्थानीइ तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाजमा लाग खटिन इच्छुक र एउटै निकाय तथा कार्यालयमा न्यूनतम अवधिभन्दा बढी अवधि कार्यरत रहेका कर्मचारीले निवेदन दिन सक्ने प्रवक्ता भट्टराईले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्