२७ भदौ । बेसीशहर । लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर २ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेसँगै बेसीशहर नगरपालिका वडा नम्बर २ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।
मंगलबार भएको बालमैत्री वडा घोषणा कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले २ का वडाअध्यक्ष मदन रानालाई वालमैत्री वडा भएको प्रमाणपत्र प्रदान गरेसँगै उक्त वडा बालमैत्री घोषणा भएको हो ।
नगरप्रमुख अर्यालले बालवालिकालाई स्टेशनरी वितरण र वाल अधिकार सम्बन्धि नारा लेखिएको बेलुन उडाएर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख अर्यालले बेसीशहर नगरपालिकालाई २०८२ साल भित्र बालमैत्री स्थानिय शासन वालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिवद्धता गरिएकोमा वडा नम्बर २ सहित हालसम्म ३ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १० लाई यहि भदौ २९ गते बालमैत्रीघोषणा गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
नगरप्रमुख अर्यालले राम्रो तयारी र अनुगमनका साथ वडालाई बालमैत्री घोषणा गरिएकोमा वडा कार्यालय, वडा अन्तरगत रहेका संघ संस्था र सहयोग गर्ने ग्रामिण सामुदायिक विकास केन्द्र तथा वल्र्ड भिजनलाई धन्यवाद दिनुभएको थियो ।
बालमैत्री वडा घोषणाका लागी तयार पारिएको ५१ सुचक पूरा गरेमा वडा नम्बर २ ले कूल ९३ प्रतिशत अंक प्राप्तगरी बालमैत्री वडा बनेको छ । वालमैत्री वडा घोषणा गर्न कम्तिमा कम्तीमा ८० प्रतिशत अंक प्राप्त गर्नुपर्छ ।
बालमैत्री वडा घोषण कार्यक्रममा नगरपालिका उपप्रमुख पद्मा गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख वीरबहादुर गुरुङ, वर्ड भिजनका प्रतिनिधि शुक्रराज गुरुङ, ग्रामिण सामुदायिक विकास केन्द्रका अध्यक्ष राजेन्द्र बोहरा, बेसीशहर नगरपालिकाका प्रवक्ता हिरालाल विश्वकर्मा, प्रेस सल्लाहकार कृष्ण केसी, पूर्व अध्यक्ष गणेशबहादुर कंडेल, वालकल्यण माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराज ढकाल लगायतले मन्तब्य व्यक्त गर्दै घोषणासँगै त्यसको दिगोपना हुने गरी काम गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा बालमैत्री घोषण गर्दा पूरा गर्नुपर्ने ५१ वटा सूंचकको अबस्थाका बारेमा नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले जानकारी गराउनुभएको थियो । ५१ वटा सूचकमा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने, ५ देखि १४ वर्ष उमेरसमूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पुरा गरेको हुनुपर्ने लगायतका बालबालिकाको अधिकारसँग सम्बन्धित बिषयहरु रहेका छन् ।
बेसीशहर वडा नम्बर २ का वडा अध्यक्ष मदन रानाको अध्यक्षतामा भएको बालमैत्री वडा घोषण कार्यक्रममा स्वागत वडा सदस्य गमानसिङ कंडेलले र संचालन वडा सदस्य रिता अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सूचकअनुसार आर्थिक, भौतिक र सांस्कृतिक रूपमा सहयोग गर्ने संघ संस्थालाई सम्मान गरिएको थियो भने विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । औपचारिक घोषाणा कार्यक्रम अघि वडा नम्बर २ को चालिसे चोकदेखी भकुण्डे बजारसम्म आमा समुह लगायतले ¥याली निकालेका थिए ।
साभारः रेडियो मर्स्याङदी








