व्यास नगरपालिकाद्धारा लामखुट्टे खोज र नष्ट अभियान तिब्र

  • ख-
  • ख+

लामखुट्टे खोज र नष्ट अभियानमा सक्रिय व्यास नगरपालिका मेयर बैकुण्ठ न्यौपाने

११ असोज । तनहूँ । दमौली बजारमा डेंगुको संक्रमण बढ्दै गएपछि तनहँुको व्यास नगरपालिकाले लामखुट्टे खोज र नष्ट गर अभियान तीव्र पारेको छ । नगरपालिकाले बजारी क्षेत्रहरुमा रहेका वडाहरुमा डेंगु रोकथाम र न्यूनिकरणका लागि सरसफाइ देखि सचेतना कार्यक्रम सँगै लामखुट्टे खोज र नष्ट गर अभियान तीव्र पारेको हो । नगरपालिकाले बुधबार देखि सबै वडामा सामाजिक संघसंस्था,विद्यालय,स्वास्थ्य संस्था, टोल संगठन,राजनीतिक दललगायतको सहभागीतामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो ,“ प्रदेश सरकारबाट खटिएका चिकित्सक सहितको विशेष टोलीलाई वडाका जनप्रतिनिधिको नेतृत्वमा घरघरमै पुगेर बिरामीको स्वास्थ्य जाँच गर्ने गरिएको छ । यता तनहूँ प्रशासनको समन्वयमा दमौली बजारमा सरसफाइको कार्य तीव्र पारिएको छ । ”

विहिबार नगरपालिकाले बजारी क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय, टोलमा सरसफाइ गरिएको उहाँले बताए । नगरप्रमुख न्यौपानेले डेंगु नियन्त्रणमा जिल्ला समन्वय समिति तनहँु, जिल्ला प्रशासन कार्यालय तनहँु, नेपाल रेडक्रस सोसाईटी लगायत विभिन्न सामाजिक संघ सस्थाको सहयोग पाएको बताउनुभयो । त्यस्तै विहिबार देखि नै घरघरमै चिकित्सक, जनप्रतिनिधि सहितको टोली पुगि बिरामीको अवस्था बुझ्ने गरेका नगरपालिकाको स्वास्थ्य तथा जनंसख्या शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

टायर,ड्रम,गमला,फ्रिज,कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको उहाँले बताउनुभयो । दमौली बजारमा डेंगु रोगको संक्रमण फैलिएपछि नगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको हो । टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको सङ्क्रमणबाट बच्न सकिने स्वास्थ्य शाखा प्रमुख सोतीले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?