रवि लामिछानेद्वारा बझाङका भूकम्प प्रभावितलाई सहयाेगकाे आव्हान

  • ख-
  • ख+

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भूकम्प प्रभावित बझाङका विभिन्न ठाँउहरुमा पुगेका छन् । लामिछानेले सामाजिक संजाल मार्फत आज दिनभर बझाङका विभिन्न प्रभावित ठाउहरुमा पुग्ने बताएका छन् । मंगलबार भूकम्प गएकाे भाेलि पल्ट प्रतिनिधि सभा सदस्य लामिछाने साे क्षेत्रमा पुगेका हुन् ।

उनले आफ्नाे साथमा लगेका टेन्ट र अन्य सामग्रीहरु प्रमूख जिल्ला अधिकारीलाई बुझाएकाे पनि जनाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दाे प्रयास गरेका तर त्याे मात्र पर्याप्त नहुन सक्ने भन्दै उनले सबैसँग सहयाेगकाे आव्हान पनि गरेका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्ः भुकम्पको क्षति र हामीले गर्नु पर्ने कर्तव्य बारे प्रशासन र सुरक्षा निकायसँग छलफल भयो। हामीले ल्याएका टेन्ट लगायतका सामग्री प्रजीअ ज्यु लाई बुझायौं। भूकम्प प्रभावित बझाङका कैयाैं परिवार अस्थायी आवासमा छन्। तिनकाे उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दाे प्रयास गरेका छन्। तर, त्याे मात्र प्रयाप्त नहुन सक्छ। त्यसैले, सहृदयी महानुभावहरुले जिल्ला प्रशासन कार्यालय, बझाङसँग समन्वय गरेर मात्रै सहयाेग गर्न हुन आव्हान गर्दछु। आज दिनभर प्रभावित ठाउहरुमा पुग्नेछु। यस्तो दुखमा पनि हासेर स्वागत गर्नु हुने बझाङवासीहरु भगवान जस्ता रहेछन् । तपाईको दुख केन्द्र सम्म लैजाने इमानदार कोशिस गरिरहनेछु।

मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन्।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्