२२ कार्तिक । तनहूँ । तनहूँको व्यास नगरपालिकाले भुकम्प पिडितको लागि ५ लाख रुपैया सहयोग गर्ने भएको छ । आज बसेको व्यास नगर कार्यपालिकाको नियमित वैठकले हालसालै जाजरकोट र रुकुममा आएको भूकम्प पिडितहरुको सहयोगार्थ नगरपालिका विपद् कोषबाट ५ लाख रुपैया सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले असोज २२ गते बसेको कार्यपालिका वैठकका निर्णयहरुको समिक्षा गर्नुका साथै व्यास नगरपालिका अन्तरगत जग्गा वर्गीकरण एवं सडक मापदण्ड निर्धारण कार्यविधि, २०८० पारित, व्यास नगरपालिका दलित समन्वय समिति सम्बन्धी कार्यविधि, २०८० पारित, नगरपालिकाबाट सम्पादित कार्यहरुको विवरण तयारी निर्देशिका, २०८० पारित, व्यास नगरपालिका, भूमी इकाई अन्तरगत जग्गा नापी सम्बन्धी प्रगती विवरण पेश भई वैठकमा समिक्षा, नगरपालिकाबाट टेण्डर गरिएका विभिन्न ठेक्काहरुको अनुमोदन गर्ने, व्यास नगरपालिका मानसिक स्वास्थ्य सम्बन्धी नीति पारित, व्यास नगरपालिका वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ लाई संशोधन, व्यास नगरपालिका भित्रका सञ्चालित खानेपानीका केहि मूलहरु दर्ता भएको नदेखिदाँ ३ महिना भित्र मुल दर्ताका लागि सूचना दिने निर्णयहरु गरेको छ ।
वैठकमा उप प्रमुख ईन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरु उपस्थिति रहेको थियो








