विराटनगर । सङ्घीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले चलाएको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
उनले चलाएको को १ च ७८३९ नम्बरको स्कारपियोको ठक्करबाट झापाका अनिल मार्डीको मृत्यु भएको हो । झापाको कनकाई नगरपालिका-८ विरिङ पुलमा स्करपियोले तीन जना सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलमा सवार ३ जना मध्ये २ जना गाडीको ठक्करबाट पुल मुनी खोलामा खसेका थिए । मोटरसाइकलको बिचमा सवार कमल-६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले सवारी दुर्घटना भएको पुष्टि गरेका छन् ।
इलाका प्रहरी बिर्तामोडका डिएसपी सुरज कार्कीले तिहारको बिदा भएकाले बिदा पश्चात् कानुन बमोजिम कारबाही हुने बताए । उनका अनुसार मृतकका परिवारले शव बुझेर पोस्टमार्टमका लागि भद्रपुर लगेका छन् ।
मोटरसाइकल चालक कमल-६ का १९ वर्षीय खगेन्द्र ताजपुरिया र पछाडि सवार सोही १८ वर्षीय पूजन राजवंशी घाइते भएका छन् । चालक ताजपुरिया सामान्य घाइते छन् । राजवंशीको आइसियुमा उपचार भइरहेको छ ।
नेपाल प्रेस








