जाडोमा छालामा हुने समस्या र बच्ने उपाय

  • ख-
  • ख+

जाडोयाममा छाला सुख्खा हुन्छ । घाम तापेर, कोठामा हिटर बालेर शरीरलाई न्यानो बनाउने गरिन्छ । जसकारण छाला अझ बढी सुख्खा हुन पुग्छ । चिसो मौसममा बाहिरी वातावरण पनि सुख्खा हुने भएकाले यसको सोझो असर छालामा पर्छ ।

जाडोमा पानी पनि कम पिउने बानीले गर्दा छालामा चिल्लो पदार्थको कमी भई हात, खुट्टा, ओठ, अनुहार फुट्ने समस्या हुन्छ । सुख्खा हुने भएकाले गर्मीको समयमा भन्दा जाडोमा छाला चिलाउने समस्या पनि बढी हुन्छ ।

जाडोमा छाला सुख्खा हुँदा अन्य विभिन्न समस्यासमेत आउन सक्छन् ।

एलर्जीको समस्या

जाडो मौसममा एलर्जीको समस्या बढी देखिन्छ । जसलाई विन्टर एक्जिमा वा अटोपिक डर्माटिटिक्स पनि भनिन्छ । यसमा शरीरको विभिन्न भागमा रातो बिमिरा आउने, हातखुट्टामा कत्ला देखिने हुन्छ ।

जाडोयाममा घाम प्यारो हुने भएकाले धेरैबेर घाम ताप्ने गरिन्छ । सिधै घाममा बस्नाले फोटोडर्माटाइटिस अर्थात् घामबाट हुने एलर्जी हुन्छ । यसमा छालामा घामसँग प्रत्यक्ष सम्पर्कमा आउने भाग जस्तै हात, मुख, घाँटीमा बिमिरा आउँछ ।

छालामा रेसाजस्तो लाइन देखिने

लामो समयसम्म चिसो पानी छुदाँ वा चिसोमा बाहिर निस्किंदा रक्तसञ्चारमा कमी हुन्छ । यसले गर्दा हातखुट्टा सुन्निने, रातो हुने वा सियोले घोचेको जस्तो हुन्छ, जसलाई चिलब्लियन्स भनिन्छ । यो चिसोमा हिंड्ने, चिसोमा काम गर्नुपर्ने व्यक्तिलाई बढी हुन्छ । त्यसैगरी हिटर नजिकबाट ताप्दा शरीरमा रेसा रेसा जस्तो लाइन आउँछ । जसलाई एरिथेमा अफ इग्ने भनिन्छ । यसबाट बच्न कन्भेक्सन हिटरको प्रयोग गर्ने वा अलि टाढाबाट हिटर ताप्नुपर्छ । नांगो शरीरमा हट ब्याग वा हिटर ताप्नु हुँदैन ।

बच्ने उपाय

चिसोबाट बच्न शरीरलाई तातो पारेर राखिरहनुपर्छ । त्यसैले बाहिर निस्किंदा वा घरमा बस्दा न्यानो र पूरै बाहुला भएको लुगा लगाउनुपर्छ ।

नुहाउँदा मोस्चराइजरयुक्त साबुन वा स्याम्पूको प्रयोग गर्नुपर्छ । नुहाउने बित्तिकै पानीको थोपा शरीरमा हुँदै मोस्चराइजर वा बडी आयल लगाउनुपर्छ । यसले छालालाई लामो समयसम्म नरम राख्छ । नुहाउनुभन्दा अघि बडी लोसन वा तेल लगाउनुपर्छ । धेरै तातो पानीले नुहाउने, हातखुट्टा छाला सुख्खा गर्ने भएकाले मनतातो पानीले नुहाउनुपर्छ ।

छालालाई सुख्खा रहन नदिन नियमित मोइस्चराइजिङ क्रिम वा लोसनको प्रयोग गर्नुपर्छ । घाममा जानुअगाडि सन ब्लक क्रिम तथा लोसनको प्रयोग गर्ने, घरमा बस्दा पनि मोइस्चराइजिङ क्रिम लगाउने गर्नुपर्छ ।

जाडोयाममा छालामा टाँसिने ‘सिन्थेटिक’ खालका कपडा लगाउनु हुँदैन । जुन शरीरमा घर्षण भएर छालामा समस्या हुन्छ । जाडो छल्न उलनको कपडा लगाइन्छ । यसले पनि जीउ चिलाउने समस्या हुन्छ । त्यसैले उलनको कपडाभित्र सुतीको कपडा लगाउनुपर्छ ।

छालाको एलर्जी हुनेहरूले चिकित्सकको परामर्श अनुसार साबुन वा स्याम्पूको प्रयोग गर्नुपर्छ । ओठ चिल्लो राख्न भ्यास्लिन वा लिप बाम प्रयोग गरिरहनुपर्छ । छालाको केही समस्या देखापरेमा छालारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

लेखक: डा. मोहन भुसाल

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्