तनहूँ । अमेरिकाको बाल्टिमोरमा बसोवास गर्ने व्यास ३ दमौलीका मोहन पन्त र सन्जु अर्याल पन्तले आफ्ना सुपुत्र आरुष पन्तको जन्मदिनको अवसरमा व्यास नगरपालिकाका २ विद्यालयलाई खाद्यान्न, लत्ताकपडा लगायतको सहयोग गर्नुभएको छ । पन्त दम्पत्तिले व्यास नं. ४ बाघ भन्ज्यागंको वेदव्यास प्राथमिक विद्यालयमा प्र.अ. र व्यवस्थापन समितिको सल्लाहमा खाद्यान्न, जाडोको लागि न्यानो कपडा, पानी तताउने मेसिन सहयोग गर्नुभएको हो । आँखा देख्ने शक्ति गुमाएका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा सहयोग गर्न पाँउदा पन्त दम्पत्ति खुशी भएको कार्यक्रम संयोजन गर्नुभएका मोहन पन्तका सहपाठी सुरेश पुरीले बताउनुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र न्यौपानेले भौतिकरुपमा कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्नु नै पुण्यको काम भएको बताउनुभएको थियो । कार्यक्रममा विद्यालयकी प्र.अ.सिता वाग्लेले सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्यस्तैगरि व्यास १ खकौलीको बहिरा बिद्यार्थीहरु अध्ययन गर्ने बुद्ध दाहाल बहिरा आवासिय विद्यालयका विद्यार्थीहरुलाई पनि पन्त दम्पत्तिले उपलब्ध गराईएको सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो । विद्यालयका प्र.अ. र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको सहयोग सामाग्रीमा विद्यालयको माग अनुसार खाद्य सामाग्री रहेका छन् । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजंग बस्नेतले सरकारको सहयोगबाट जेनतेन चलेको विद्यालयलाई यस्ता सहयोगहरुले धेरै टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक भैरव पन्थले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
तनहूँका विभिन्न संस्थाहरुमा सक्रिय सामाजिक कार्यकर्ता एवं व्यवसायी सुरेश पुरीको संयोजनमा भएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा जेसिआई लगायत विभिन्न संस्थाहरुमा सक्रिय माधब न्यौपाने, भरतकुमार श्रेष्ठ, रमेश गिरी, रवि भुजेल र पविन्द्र भट्टराई लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।








