१४ मंसिर । लमजुङ । सुत्केरी महिला र शिशुको मृत्युको विषयलाई लिएर सदरमुकाम बेसीशहरस्थित लमजुङ अस्पतालमा तोडफोड भएको छ ।
अस्पतालको लापरवाहिका कारण महिला र शिशुको मृत्युभएको आरोप लगाउँदै विरोध पदर्शन गर्दै आएका पिडित पक्षले विहिवार अपरान्ह अस्पतालमा तोडफोड गरेका हुन् ।
प्रदर्शनका क्रममा पिडित पक्षले अस्पतालमा ढुङ्गामुडा गर्ने, अस्पताल गेटमा टायर बाल्ने, उपचारमा संलग्न चिकित्सको कारबाही लगाएतको माग सहित नाराबाजी गरेका थिए । प्रदर्शनकर्ताको ढुंगामुढा प्रहारबाट अस्पतालको गेट तथा डिजिटल बोर्डमा क्षेती पुगेको छ ।
प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट दुईजना प्रहरी सामान्य घाईते भएको लमजुङ प्रहरीले जनाएको छ । सामान्य घाईते प्रहरीको सोहि अस्पतालमा उपचार गरीएको लमजुङका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरिक्षक मेघनाथ चापागाईले जानकारी दिनुभयो ।
अस्पताल बाहिर तनावपुर्ण स्थिती भएपछि प्रहरीले लाठीचार्ज सहित प्रदर्शन रोक्न आठ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । केहि समय तनावपुर्ण भएपनि अहिले अस्पतालको अवस्था सामान्य छ । यद्यपी अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ ।
प्रसुती सेवाका लागि सोमबार लमजुङ अस्पतालमा भर्ना भएकी मस्र्याङदी–९, पामचोककी २६ वर्षिया शोभा विकको मंगलबार मृत्यु भएको हो । शल्यक्रिया मार्फत बच्चा निकाल्दा मृत शिशु जन्मिएको र महिलाको अत्याधिक रक्तश्राव पछि चितवन रिफर गरीएको अस्पताल प्रशासनले जनाएको छ ।
आफन्तजनले भने जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप तथा असन्तुष्टि जनाउँदै अस्पताल बाहिर प्रदर्शन गदै आएका छन् ।
साभारः मर्स्याङदी समाचार








