२६ मंसिर । तनहूँ । तनहूँ जिल्लाको मानव अधिकारको अवस्था बारे अनौपचारिक सेवा केन्द्र ईन्सेक तनहूँको दमौलीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार निगरानी समुहकी सदस्य बसुन्धरा घर्तिको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा तनहूँका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँण, नेपाली कांग्रेस तनहूँका प्रवक्ता हरि वाग्ले, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सिताराम सुर्खाली, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य बसन्त दरै, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । नेपाल मानव अधिकार पुस्तक बर्गा २०२४ तथा तनहूँ जिल्लाको मानव अधिकारको अवस्था बारे आयोजित अन्तर्क्रिया कार्यक्रममा अनौपचारिक सेवा केन्द्र ईन्सेक तनहूँका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले तनहूँ जिल्लाको मानवअधिकारको अवस्थाको बारेमा आफ्नो रिर्पोट प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी तथा तनहूँका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ईन्सेकको पस्तुतिमा समेत सरकारले मानव अधिकारको उलंघन गरेको नदेखिएकोले सबैले सरकार तथा राज्यले मानव अधिकारको उलंघन गरेको छैन संरक्षण गरेको छ भन्ने कुरा स्थापित भएको बताउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले तनहूँ जिल्ला शान्त जिल्ला रहेको र प्रशासनको काम कारवाही निष्पक्ष भएको हुनुले पनि मानवअधिकारको घटना घट्न कमि आएको बताउनुभएको थियो । छिटफुट घटना हनु्मा पनि सचेतनाको कमिका कारणले भएको हुनाले त्यसलाई न्युनिकरण प्रहरी प्रशासन लागिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि र विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुले मानव अधिकारको उलंघनका घटनाहरु जुनसुकै बेला पनि हुन सक्ने भएकोले पनि सम्बन्धित निकाय सचेत रहन आग्रह गर्नुभएको थियो ।








