पत्रकार बिकास खनाल सहित ३ जना पूर्ण स्मृति सम्मान तथा पुरस्कार बाट जना सम्मानित हुने

  • ख-
  • ख+

तनहूँ । तनहूँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ. एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ. एम. सम्मान तथा पुरस्कारका लागि सम्मानित व्यक्ति छनौट गरिएको छ । जसअनुसार पत्रकारितातर्फ बिकास खनाल , साहित्यतर्फ सागर उदास र समाजसेवातर्फ नन्द थापा छनौट भएका छन् । तनहूँ जिल्ला भित्र क्रियाशिल रहेका मध्ये एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहूँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट उक्त सम्मान तथा पुरस्कृत व्यक्ति छनौट गरिएको एफएमका संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिए । सम्मानित हुन लागेका पत्रकार खनाल एक दशकभन्दा अगाडिदेखि पत्रकारितामा क्रियाशिल छन् । दमौलीबाट प्रकाशित हुने मादीसेती प्रवाह दैनिकबाट पत्रकारिता सुरुवात गरेका खनाल लामो समय स्तम्भकारको रूपमा कलम चलाउँथे । त्यसपछि दमौलि न्युज हुँदै बिएनबि अनलाइन , सेतीमादी दैनिक र प्राइम टेलिभिजनबाट खनालले पत्रकारिता गरिरहेका छन् । खनालले दमौली माहात्म्यम पुस्तक समेत प्रकाशन गरेका छन् । तनहूँको म्याग्दे गाउँपालिका वडा नं. १ गुणादीमा जन्मेका खनाल हाल दमौलीमा बस्दै आएका छन् ।
यसैगरी साहित्यतर्फ सम्मानित हुन लागेका सागर उदास बिगत लामो समयदेखि साहित्यका विभिन्न विधामा कलम चलाउने गर्दछन् । उनका थुप्रै कविता संग्रह र कृति प्रकाशित छन् । सागर हाल दमौलीमा बस्दै आएका छन् । यस्तै समाजसेवातर्फ छनौट भएका शुक्ला २ माझदगाम निवासी नन्द थापाले यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

गत २०७९ को साहित्य तर्फ शेषमणी आचार्य , पत्रकारिता तर्फ विश्वबन्धु भण्डारी र सेवा तर्फ भक्त बहादुर रिमाल सम्मानित तथा पुरस्कृत भएको संस्थापक अध्यक्ष श्रेष्ठले बताए ।

स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । हालै बसेको बैठकले पुरस्कृत व्यक्ति छनौट गरेको हो ।
रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ । यही पुस ९ गते सोमबार दुलेगौंडामा आयोजना हुने विशेष कार्यक्रममा खनाल , उदास र थापालाई सम्मान गर्ने कार्यक्रम रहेको एफएमका अध्यक्ष ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।
७ वर्षअघि स्थापित रेडियोमा गीत संगीतको अलवा हाल दैनिक ७ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट प्रसारण भइरहेको रेडियो तनहूँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?