डा.केशव पौडेलद्धारा जलदेवी माविमा न्यानो कपडा सहयोग

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा.केशव पौडेलले तनहुँको व्यास–१ स्थित जलदेवि माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् । व्यास–९ सिस्नेरी घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका पौडेलले विद्यालयका ४० जना अति विपन्न बालबालिकाको लागि न्यानो विद्यालय पोशाक सहयोग गरेका हुन् ।
पौडेलले बिहीवार बिहान विद्यालयमा स्वयम् उपस्थित भएर व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बस्नेतलाई सहयोग सामाग्री हस्तान्तरण गरे ।
बढ्दो जाडोका कारण विद्यालयमा अध्ययनरत् विपन्न विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको विषयमा विद्यालयका शिक्षक राजु पौडेलले जानकारी गराएपछी आफुले तत्कालै सहयोगको योजना बनाएको डा.पौडेलले बताए । भोलिका दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । “प्रदेशमा रहे पनि मेरो मन यही छ ,मैले यस ठाउँको लागि सक्दो सहयोग गर्नेछु” उनले भने ।
बिगत १२ वर्ष देखि एनआरएनए अभियान्ताको रुपमा गैर आवासीय नेपालीको हक हितका लागि काम गर्दै आएका पौडेलले नेपालमा पनि विभिन्न समयमा प्राकृतिक विपत्तिमा परेकालाई राहत सहयोग गर्नेदेखि शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
छोटो अवधिको जानकारीमा विद्यालयमै उपस्थित भएर सहयोग गरेको भन्दै विद्यालयका प्रअ पिताम्बर सिग्देलले आभार व्यक्त गरे ।पुर्ण विद्यालय पोशाकमा विद्यालय आउन नसक्ने अवस्था रहेका विद्यार्थीलाई सहयोगले राहत मिल्ने उनले बताए । उनका अनुसार उक्त विद्यालयमा आर्थिक विपन्नता भएका तथा दलित समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको छ । प्रदेशमा रहेर पनि मातृभूमिप्रति पौडेलले देखाएको सेवा भाव र सद्भाव प्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले धन्यवाद व्यक्त गरे । साथै उनले प्राप्त सहयोगको सदुपयोग हुने विश्वास दिलाए ।
सोही अवसरमा भैरवकाली मावि दुइपिप्लेका प्रअ हरिशचन्द्र लम्साल, विद्यालय विद्यालय व्यवस्थापन समितिका सदस्य चिजबहादुर दरै, जिल्ला प्रशासन कार्यालयमा कार्यरत चन्द्रराज पण्डित, रम्बा पौडेल आचार्य, प्रकाश आचार्य लगायतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्