लमजुङको राइनास नगरपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरु

सर्वज्योति
  • ख-
  • ख+

२६ पुस । लमजुङको राइनास नगरपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । पालिकामै पहिलो पटक वडा नं। ६ स्थित धमिलिकुवा स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुरु भएको हो ।

पालिकाको माग अनुसार गण्डकी प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन उपलव्ध गराएसँगै सेवा सुरु गरिएको राइनास नगरपालिका स्वास्थ्य शाखा प्रमुख नानीबाबु ढकालले बताउनुभयो । प्रदेश सरकारले सहयोग गरेको १२ लाख रुपैया बरावरको ग्रामीण अल्ट्रसाउण्ड मेसिन एक कार्यक्रमका विच राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले धमिलिकुवा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख गुरुङले स्वास्थ्य चौकी इन्चार्ज राम खनाल र सिनियर अनमी सरस्वती चिलुवाललाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको हो ।

मेसिन हस्तान्तरण तथा सेवा सुचारु कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुरुङले पालिकामा पहिलो पटक वडा नं। ६ धमिलिकुवा स्वास्थ्य चौकीबाट उक्त सेवा सुरु गरिएको र अन्य वडामा पनि उक्त सेवा पुर्याउने बताउनुभयो । उक्त मेसिन एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिने हुदाँ सेवा प्रवाहमा सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा वडाअध्यक्ष गोविन्द चिलुवाल, स्वास्थ्य शाखा प्रमुख नानीबावु ढकाल, उपप्रमुख लक्ष्मीप्रसाद सेढाई, स्वास्थ्य कर्मीहरु लगायतको उपस्थिती थियो ।

यसअघि पालिका भित्रका गर्भवति महिलाहरुलाई गर्भ जाँच गराउनकै लागि पालिका वाहिर तथा सहरबजार धाउनुपर्ने बाध्यता थियो । पालिकामै सेवा सुरु भएपछि ग्रामीण भेगका महिलाहरुलाई गर्भ जाँचका लागि सहज हुने भएको छ । ग्रामीण अल्ट्रासाउण्ड सेवा प्रवाहका लागि तालिम प्राप्त १ जना अनमीको व्यवस्था गरिएको छ ।

साभारः मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्