बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट बच्चा चोरी गर्ने मनिषा पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

१२ फागुन । काठमाडौं । परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल थापाथलीबाट २६ दिनको शिशु चोरीमा संलग्न महिला मनकुमारी सिंह (मनिषा) लाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि शिशु चोरी गर्ने दैलेख घर भएकी मनिषालाई पक्राउ गरि शिशुलाई उद्दार गरेको छ ।
शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो ।

स्रोतका अनुसार, प्रहरी टोली उनको घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन् । उनले बाटोमा जन्माएर ल्याएको दाबी गरेको एक अधिकृत बताउँछन् ।
तर, सीसी टीभी फुटेज, त्यसबेला लगाएको लुगा लगायतका आधारमा उनले शिशुलाई प्रसूति गृहबाट ल्याएको पुष्टि हुने अधिकृतहरु बताउँछन् ।

प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ ।

सीसी टीभी फुटेजमा उनलाई लिन एक किलोमिटर परसम्म उनकी दिदी गएको देखिएको छ । त्यसैले प्रहरीले दिदीलाई पनि नियन्त्रणमा लिएको छ ।

‘चोरी गर्ने योजना अनुरुप नै प्रसूति गृह गएको हो कि जस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘फर्किएर आउँदा निकैपरसम्म दिदी पनि लिन गएकाले उनी यसबारे जानकार हुनसक्ने देखिन्छ ।’

प्रहरीले नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरीले पक्राउ परेकाहरुविरुद्ध के कसूरमा कारबाही प्रक्रिया अघि बढाउने भन्ने टुंगो लगाइसकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्