तरुण दलका सदस्य विनोद गिरीलाई गोली हान्ने ४ सार्वजनिक २ फरार

सर्वज्योति
  • ख-
  • ख+

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका १ गैरी चोकमा गोली प्रहार गर्नेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो ।

पकाउ पर्नेहरुमा कैलालीको गौरीगंगा नगरपालिका २ का १८ वर्षीय ईन्द्र बि.क., १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर नगरपालिका ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेका छन् ।
घटनामा संलग्न थप दुई जना फरार छन् । उनीहरुको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोली प्रहार गर्ने योजनाअनुरुप गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका ४ स्थित गणेश होटेलमा बास बसेका थिए ।

फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजनाअनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा ३ जना सँगै बसेका थिए ।

एक जना शंकित व्यक्तिले प्रतिवादीहरुलाई विनोद गिरीको घर ठेगानालगायत सबै देखाइ चिनाइदिएको तथा होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ ।

गएराति विनोद गिरीको गाडीलाई प्रतिवादीहरुको मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका १ स्थित गैरीचोकमा उनीमाथि १ राउण्ड गोली प्रहार गरेपश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने भारतीय नागरिक राजपूत, मोटरसाइकल चालक विक, भुल र होटलमा बस्ने व्यवस्थापन गर्ने गिरीलाई नियन्त्रण लिएर सार्वजनिक गरेको हो ।

घटनाका बारे थप अनुसन्धान जारी रहेको र शंकितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्