प्रचण्डलाई आफ्नो निर्वाचनक्षेत्र छोडेका बाबुराम भट्टराईले गरे अर्को चुनाव आफैँ लड्ने घोषणा

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

यसअघि आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई मतदातासँगको वृहत् छलफलमा निर्णय पुनर्विचार गर्न आएको सुझावलाई स्वीकार गरेको नेसपा नेता तथा बाबुरामका राजनीतिक सहयोगी विश्वदीप पाण्डेले बताएका छन् ।

पाण्डेले भने( नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ ।अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ ।

गत वर्ष निर्वाचनमा बाबुरामको पार्टी नेसपा माओवादीको चुनाव चिन्हबाट लडेको थियो भने बाबुरामले नै प्रचण्डलाई गोरखा २ मा आफ्नो क्षेत्र छाडेर चुनाव जिताएका थिए ।

तर प्रचण्डको अस्थिर राजनीतिको आलोचना गर्दै आएका भट्टराईले निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र लेखेर आफ्ना २ सांसदलाई नेसपाकै मान्यता दिन आग्रह गरेका छन् ।

बाबुराम गोरखा २ मा लोकप्रिय मानिन्छन् । उनले तत्कालीन वाम गठबन्धनको बेला पनि नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्