नर्सको हत्यापछि प्रेमीले गरे आत्महत्या

सर्वज्योति
  • ख-
  • ख+

विराटनगर । मोरगं विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्व प्रेमीले गरेको खुलेको छ । प्रेममा धोका पाएपछि चन्द्रिकाका पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् । चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशङ्कर दास झुन्डिएको अवस्थामा फेला परेका हुन् । नर्स चन्द्र कुमारी विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रबार शव भेटिएको थियो ।

सिराहा घर भएकी दासको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि उनका दुईजना प्रेमी रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झुन्डिएको अवस्थामा फेला परेका २२ वर्षीय शिवशङ्कर दास वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

उनी मलेसिया गएपछि चन्द्रिका कुमारीको सिराहाकै एक युवासँग प्रेम सम्बन्ध गाँसिएको थियो । चन्द्रिकाको अन्य युवासँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि शिवशङ्कर फागुन २७ गते नेपाल आएको खुलेको छ ।

प्रहरीका अनुसार उनी फागुन २७ गते काठमाडौं आएका थिए । उनी फागुन २९ विराटनगर आएको देखिएको प्रहरीले जनाएको छ । विराटनगर आएर उनी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।

डेरामा बस्दा ‘चन्द्रिकाकुमारीले अर्कैसँग प्रेममा रहेको बताएपछि उनको हत्या भएको देखिन्छ’, घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘चन्द्रिकाको हत्या गरेँ । अब म पनि आत्महत्या गर्छु भनेर शिवशङ्करले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’

विराटनगर–४ स्थित नबोल टिचिङ अस्पतालको अर्थो विभागमा चन्द्रिका काम गर्दै आएकी थिइन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले चन्द्रिकाको हत्या पछि शिवशङ्करले आत्महत्या गरेको बताए ।

‘चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशङ्करले गरेर फरार भएको पाइएपछि प्रहरीले खोजी भएको थियो’, कार्कीले भने, ‘खोजीका क्रममा उनी झुन्डिएको अवस्थामा मृत फेला परे ।’

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्