सुन तस्करीमा प्रतिवादी बनाइएका जीवन चलाउनेसँग एक दर्जन प्रहरी अधिकृतको नियमित सम्पर्क

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । सुन तस्करी प्रकरणमा संलग्न भनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा मुद्दा चलाइएका जीवन चलाउनेले करिब १ दर्जन प्रहरी अधिकारीसँग नियमितरुपमा कुराकानी गरेको पाइएको छ । रातोपाटीलाई प्राप्त चलाउनेको कल डिटेल्स रिपोर्टमा करिब एक दर्जन प्रहरी अधिकारीसँग चलाउनेको नियमित सम्पर्क भएको पाइएको हो ।

चलाउनेको सम्पर्क सबैभन्दा बढी पर्साका एसपी कुमोध ढुङ्गेलसँग भएको पाइएको छ भने एआईजी श्यामलाल ज्ञवालीसँग समेत चलाउनेको कुराकानी भएको प्रमाण प्राप्त भएको छ । चलाउनेले एआईजी श्यामलाल ज्ञवाली, डीआईजी दुर्गा सिंह, एसपीहरू कुमोध ढुङ्गेल, सीताराम रिजाल, रवीन्द्र रेग्मी र गौतम केसी, डीएसपीहरू रुगम बहादुर कुँवर, दीपक खड्का, गंगा पौडेल, पूर्णिमा चन्द र अनिल ठकुरीसँग नियमित कुराकानी भएको देखिएको हो ।

जीवन चलाउनेले प्रयोग गर्ने गरेको ९८५११२७XXX को नम्बरबाट एक दर्जन प्रहरी अधिकारीसँग नियमित कुराकानी भएको पाइएको हो । चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआईजी ज्ञवालीको मोबाइल नम्बर ९८५१२८०XXX मा एकपटक कुराकानी गरेको देखिएको छ ।

चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआइजी ज्ञवालीको मोबाइल नम्बरमा २०८० असार १८ गते रातको ८ः३० मा करिब २ मिनेट कुराकानी भएको पाइएको छ । यद्यपि कुराकानी के विषयमा भएको हो भन्ने विषयमा भने न जीवनले बताएका छन् न एआइजी ज्ञवालीले यस विषयमा मुख खोलेका छन् ।

त्यसैगरी चलाउनेले आफ्नो मोबाइल नम्बरबाट डीआइजी दुर्गा सिंहसँग दुई पटक कुराकानी गरेको पाइएको छ । चलाउनले सिंहको मोबाइल नम्बर ९८५१२८०XXX मा कुराकानी गरेको पाइएको छ ।

त्यस्तै चलाउनेको सम्पर्क सबैभन्दा बढी एसपी कुमोध ढुङ्गेलसँग भएको पाइएको छ । तत्कालीन समयमा जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका एसपी ढुङ्गेलसँग विगत ९ महिनाको अवधिमा चलाउनेले ४४ पटक कुराकानी गरेको पाइएको हो । एसपी ढुङ्गेलको व्यक्तिगत मोबाइल नम्बर ९८५११८०XXX  मा चलाउनेले उक्त समयमा ४४ पटक कुराकानी गरेको पाइएको हो ।

त्यस्तै अर्का एसपी सीताराम रिजालसँग पनि चलाउनेले ७ पटक मोबाइल फोन मै कुराकानी गरेको पाइएको छ । एसपी रिजालकी श्रीमतीसँग चलाउनेले भाइटिका लगाएको कारण चलाउनेले रिजाललाई भिनाजु भन्ने गर्छन् । यद्यपि एसपी रिजालले चलाउनेलाई मिटरब्याजमा रकम लगानी गरेको आरोप लाग्ने गरेको छ । चलाउनेले एसपी रिजालले प्रयोग गर्ने मोबाइल नम्बर ९८५१२८५XXX मा ७ पटक कुराकानी भएको पाइएको हो ।

त्यसैगरी एसपीहरू रवीन्द्र रेग्मी र गौतम केसीसँग पनि चलाउनेले एक–एक पटक कुराकानी गरेको पाइएको छ । एसपी रेग्मीको मोबाइल नम्बर ९८५१२८७XXX र एसपी केसीको मोबाइल नम्बर ९८५१२८१XXX मा एक–एकपटक कुराकानी भएको पाइएको हो । एसपी रेग्मी हाल अपराध महाशाखामा कार्यरत छन् भने एसपी गौतम केसी हाल जिल्ला प्रहरी कार्यालय धादिङको प्रमुख छन् ।

त्यसैगरी सुन तस्करी प्रकरणका प्रतिवादी जीवन चलाउने पाँच डीएसपीसँग नियमित संवाद गरेको पाइएको छ ।

चलाउनेले डीएसपी रुगम बहादुर कुँवरको मोबाइल नम्बर ९८५१२८१XXX मा ३५ पटक कुराकानी गरेको पाइएको छ । डीएसपी रुगम बहादुर कुँवरलाई सुन तस्करी जाँचबुझ आयोगले चलाउनेसँग सम्बन्ध के हो भनी सोधपुछसमेत गरी कागज गराएको थियो ।

त्यसैगरी अर्का डीएसपी दीपक खड्काको मोबाइल नम्बर ९८५१२८१XXX मा २६ पटक कुराकानी भएको पाइएको छ । चलाउने र खड्काको चिनजान र सम्बन्ध पनि पुरानो नै रहेको दाबी गरिएको छ । खड्काको पैसा चलाउनेले मिटर ब्याजमा चलाउने गरेको र अहिले पनि खड्काको ५० लाख रुपैयाँ चलाउनेले चलाएको र उक्त रकम अझै तिर्न बाँकी रहेको बताइएको छ । चलाउनेको भाञ्जाको नामबाट जारी भएको ५० लाख रुपैयाँको चेकबुक समेत डीएसपी खड्कासँग रहेको बताइएको छ ।

त्यस्तै अर्का डीएसपी गंगा पौडेलसँग पनि चलाउनेको नियमित सम्पर्क देखिएको छ । पौडेलको मोबाइल नम्बर ९८५१२८१XXX मा चलाउने र पौडेलबिच ७ पटक कुराकानी भएको कल डिटेल्स रिपोर्टमा देखिन्छ ।
त्यस्तै अर्का डीएसपी पुर्णिमा चन्द र प्रतिवादी जीवन चलाउनेबिच पाँच पटक कुराकानी भएको पाइएको छ । चन्दको मोबाइल नम्बर ९८५१२८१XXX मा चन्द र चलाउनेबिच पाँच पटक कुराकानी भएको सीडीआर रिपोर्टमा देखिएको छ । चन्द हाल प्रहरी वृत्त स्वयम्भूको प्रमुख छिन् ।

त्यस्तै अर्का डीएसपी अनिल ठकुरीसँग पनि चलाउनेको ५ पटक नै कुराकानी भएको कल डिटेल्स रिपोर्टमा देखिएको छ । ठकुरीको मोबाइल नम्बर ९८५१२८२XXX मा ठकुरी र चलाउनेबिच ५ पटक कुराकानी भएको देखिएको हो ।

नेपाल प्रहरीका सई शिव पोखरेलसँग पनि जीवन चलाउनेले कुराकानी गर्ने गरेको पाइएको छ । पोखरेलको मोबाइल नम्बर ९८५२०५५XXX मा चलाउने र पोखरेलबीच एक पटक कुराकानी भएको पाइएको हो ।

चलाउनेविरुद्ध मुद्दा दायर हुनुभन्दा अगाडिसम्म प्रहरीका अधिकृतहरूले चलाउनेसँग नियमित सम्पर्क गरिरहेको हो । तर चलाउनेविरुद्ध मुद्दा दायर भएपछि भने चलाउनेको उक्त मोबाइल नम्बर नै स्वीच अफ भएकाले कुराकानी गरेको पाइएको छैन ।

उच्च तहका प्रहरी अधिकारीदेखि करिब एक दर्जन प्रहरी अधिकृतसँग चलाउनेको नियमित र अस्वाभाविक सम्पर्क भएको पाइएपनि सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले भने डीएसपी रुगम बहादुर कुँवरसँग मात्रै सोधपुछ गरी कागज गराएको थियो । प्रहरीसँग नजिक देखिएका र अस्वाभाविक सम्पर्क देखिएका अन्य प्रहरी अधिकृतसँग पनि आयोगले सोधपुछसम्म गरेको थिएन ।

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित सुन तस्करी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेका चार प्रहरी अधिकृतमध्ये रुगमबहादुर कुँवर पनि एक थिए । आयोगले प्रतिवेदनमा चलाउनेलाई भगाउनमा कुँवरले सहयोग गरेको र उनीसँग नियमित सम्पर्क देखिएको आरोप लगाएको छ ।

आयोगले आफ्नो प्रतिवेदनमा चलाउने र डीएसपी कुँवरबिच २ हजार ४ सय पटक कुराकानी भएको दाबी गरेको भएपनि कल डिटेल्स रिपोर्टमा भने ३५ पटक मात्रै कुराकानी भएको पाइएको छ । आयोगले सबैभन्दा बढी सम्पर्कमा रहेका एसपी कुमोध ढुङ्गेल र बारम्बार सम्पर्कमा रहेका डीएसपी दीपक खड्कासँग भने सोधपुछसम्म गरेको थिएन ।

हाल फरार प्रतिवादी रहेका जीवन चलाउनेले भारतीय नम्बरको ह्वाट्सएपबाट रातोपाटीलाई गरेको सम्पर्कमा उनले यी सबै प्रहरी अधिकृतसँग कुराकानी भएको स्वीकार गर्दै धेरैजसो सम्पर्क ह्वाट्सएपमै हुने गरेको बताएका छन् ।

उनले भने, ‘हो, मेरो कुराकानी हुने गरेको हो । अझ अधिकांश सम्पर्क त ह्वाट्सएपबाट नै हुने गरेको हो । तर यो सबै कुराकानी म गलत भएर गरेको होइन । मैले सूचना दिन पनि फोन गरेको छु, केहीसँग आर्थिक कारोबार पनि छ । कोही आफन्त छन् भने कोही गाउँकै दाजुभाइ पनि छन् । तर म अहिले पनि भन्छु, सुन तस्करीमा मेरो कुनै संलग्नता छैन । दावासँग अन्य विषयमा कुराकानी भएको हो, सुन तस्करीमा मेरो कुनै संलग्नता रहेको होइन ।’
साभारः रातोपाटी

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्