बुवाको दाहसंस्कार गरेर फर्किँदै गरेका छोरा त्रिशुलीमा खसेर बेपत्ता, ५ आफन्तको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

चितवन । आज त्रिशुलीमा खसेको ट्याक्सीमा सवार ६ जना आफ्ना परिवारका सदस्यको दाहसंस्कार गरी फर्किँदै गरेको खुलेको छ । क्यान्सर रोगले मृत्यु भएका शंकर रोकाको दाहसंस्कार गरेर फर्किने क्रममा परिवारजन चढेको ट्याक्सी त्रिशुलीमा खसेको हो ।

 

हिजो शुक्रबार काठमाडौँ पशुपतिमा शंकरको दाहसंस्कार गरिएको थियो । उनको परिवारका ६ जना आज त्रिशुलीमा खसेको गोरखा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले  जानकारी दिए ।

वडाध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सीमा शंकरकी आमा जुनमाया रोका, जुनमायाकी जेठी छोरी हरिमाया उपरकोटी र कान्छी छोरी अञ्जना रोका थिए । त्यसैगरी हरिमायाको छोरा आगमन र हिजो दाहसंस्कार गरेका शंकरका छोरा विवश पनि थिए ।

हिजो बुबालाई दागबत्ति दिएर फर्किएका १८ वर्षीय विवश अहिलेसम्म त्रिशुली नदीमा नै हराइरहेका छन् । ट्याक्सी चालक अर्जुन श्रीमल भने जुनमाया रोकाको माइलो ज्वाइँ हुन् ।

मृतकमध्ये जुनमायाको परिवार गोरखा नगरपालिकाको वडा नम्बर ४ मा बस्छन् । जुनमायाको श्रीमान पहिल्यै बितिसकेका छन् । हरिमायाको घर गोरखाकै ७ नम्बर वडा हो भने कान्छी छोरी अञ्जनाको घर गोरखाकै वडा नम्बर १४ मा रहेको वडा नम्बर ४ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार शंकरका आफन्त काठमाडौँबाट तीनवटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए।

आज बिहान इच्छाकामना गाउँपालिका ५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको थियो ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?