बालेनको अर्को लोकप्रिय घोषणाः काठमाडौं महानगरले देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने

सर्वज्योति
  • ख-
  • ख+

१६ वैशाख । काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छन् ।
उक्त सुविधा लिनका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर काठमाडौं महानगरपालिकामा जानुपर्ने हुन्छ ।
महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने मेयर बालेनले जानकारी दिएका छन् ।
‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड छन् । जहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’
थप जानकारी लागि महानगरको स्वास्थ्य विभागको निःशुल्क हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न सकिने छ ।
महानगरको जनस्वास्थ्य ऐन, २०८० को दफा २८ अनुसार महानगरपालिका क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न असहाय र बेवारिसे नागरिकको उपचारका लागि छुट्याउनुपर्ने उल्लेख छ । यस्तै व्यवस्था नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ)मा समेत उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्