रिसइबी साध्न छिमेकीको ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

१७ वैशाख, जनकपुरधाम । सिरहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार छन् ।

छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

डीएसपी सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् ।

खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र बालिकाको शव फेला परेको डीएसपी सापकोटाले बताए ।

अनुसन्धानको क्रममा परिवारसँगको रिसइबी साध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको डीएसपी सापकोटाको भनाइ छ ।

उनका अनुसार करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो । त्यही रिसइबीका कारण धनिकलालको परिवारले घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको डीएसपी सापकोटाले बताए ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्