‘जीबी राई’ बारे गृहमन्त्री लामिछाने र मलेसियाका गृहमन्त्रीबिच फोनवार्ता

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ । गत १८ वैशाखमा दुई मन्त्रीबिच कुराकानी भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

फोनवार्ताका क्रममा गृहमन्त्री लामिछानेले मलेसियामा नेपाली श्रमिक धेरै रहेको र उनीहरूको सुरक्षा व्यवस्थाबारे चासो राखेका थिए । दुई मन्त्रीहरूको बिचमा मलेसियामा लुकेर बसेका गितेन्द्रबावु (जीबी) राईबारे पनि कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयमा कार्यरत प्रतिभा रावलले बताइन् ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध रेड नोटिस जारी भएको छ । पछिल्लोपटक उनी मलेसियामा ‘लोकेट’ भएका थिए ।

यता देशको सिमानाको सुरक्षा र सार्वजनिक व्यवस्थाको विषय छलफलको मुख्य विषय भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यहाँ जीबी राईबारे विषय उल्लेख छैन । उनले लेखेका छन्, ‘हामी आप्रवासी कामदारहरूका साथै सीमापार अपराध रोकथाम लगायतका अन्य धेरै विषयमा सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध छौँ ।’

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?