दमौलीमा मध्यरातमा भीषण आगलागीः बिहानीपख आगो नियन्त्रणमा

सर्वज्योति
  • ख-
  • ख+

६ जेट । तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा मध्यरातमा भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए । रासस

तस्विरः सुमन श्रेष्ठ । सामाजिक संजाल

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?