नाला खन्दा पुरिएर तीन मजदुरको मृत्युु, मेयरको घरमा ढुंगामुढा र तोडफोड

सर्वज्योति
  • ख-
  • ख+

रूपन्देही । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयले मेयर विष्णुप्रसाद भुसालको घरमा ढुंगामुढा गरि तोडफोड गरेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए ।

पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

पहिले राना र गाहाको मात्रै शव भेटिएको थियो पछिल्लोपटक खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको पनि शव भेटिएको स्थानीय पत्रकार रामकुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए ।

ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको डीएसपी पौडेलले जानकारी दिए । घटनापछि स्थानीयले काममा ढिलाइ गरेको भन्दै मेयर भुसालको घरमा तोडफोड गरेपछि स्थानीय प्रशासनले सुरक्षा सकृयता बढाएको छ ।
नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्