पोखरामा पैसा खर्च गर्न नपर्ने विकासका धेरै कामहरु अगाडि बढाइने

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले नगरको आगामी बजेट सानो आकारकोे हुने भएकाले पैसै खर्च गर्न नपर्ने थुप्रै कामहरु अगाडि बढाउन लागेको बताएका छन् । बुधबार बिहान महानगर कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका पोखराका नेकपा एमाले नेताहरुसँग मेयर आचार्यले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले पैसा खर्च गर्न नपर्ने गरी पोखरामा थुप्रै कामहरु गरिने जानकारी दिए पनि ती कुन र कस्ता प्रकारका परियोजना हुन् भन्ने बारे भने सो अवसरमा थप विवरण दिएका छैनन् । तर आगामी वजेटको आकार सानो हुने भएका कारण पोखरामा नयाँ र ठूलो परियोजना भने शुरु नहुने भएको छ ।

“यो वर्ष बजेटको साइज पनि कम हुँदैछ, राजस्व पनि कम भयो”, उनी भन्छन् “आगामी बजेटमा नयाँ र ठूलो परियोजना शुरु गरिहाल्ने अवस्था छैन।”

यस अगाडि व्यवस्थित तरिकाले बढेका सबै परियोजना निरन्तर चलिरहने उनको भनाइ छ । यसबारे अविश्वास नगर्न एमाले नेताहरुसँग उनले आग्रह गरेका छन् । एमाले नेताहरुले अघिल्लो पाँच वर्षमा महानगरले अगाडि सारेका योजनाहरु पोखराको विकासका लागि महत्वपूर्ण रहेको तथ्य स्मरण गराए पछि मेयरको यस्तो भनाइ आएको हो ।

अघिल्लो कार्यकाल महानगरमा एमाले नेता मानबहादुर जिसी मेयरका रुपमा निर्वाचित भएका थिए भने मेयर आचार्य नेकपा एकिकृत समाजवादीका तर्फबाट यस पटक विजयी भएका हुन् । उपमेयरका रुपमा भने एमाले नेतृ मन्जुदेवी गुरुङ अघिल्लो कार्यकाल र यसटक विजयी हुन सफल भएकी छन् ।

नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचायको नेतृत्वमा गएको टोलीले सो पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र प्रस्तुत गर्दा महानगर कार्यालयमा मेयर आचार्य र उपमेयर गुरुङको उपस्थिति रहेको थियो ।

महानगरले आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि नीति, कार्यक्रम र बजेटको तयारीे चलिरहेको रहेको बताएको छ । सोही सन्दर्भ पारेर ध्यानाकर्षण तथा सुझावहरु प्रस्तुत गरेको एमाले पोखरा महानगर कमिटीका अध्यक्ष आचार्यले बताएका छन् ।

पोखराको विकास निमार्ण र सुशासन लगायतका विषयलाई ३२ बुँदामा समेटेर पेश गरिएको एमालेले जनाएको छ । जसमा पोखरा पूर्वाधार विकास निगम ऐन कडाइका साथ कार्यान्वयन गर्न माग गरिएको छ । पोखरामा रहेका सबै तालहरुको उच्च संरक्षण गरी सबै प्रकारका अतिक्रमण राेक्नका लागि कानून निर्माण गरिनु पर्ने बताइएकाे छ ।

त्यसैगरी फोहर मैला व्यस्थापन, पोखरा पूर्वाधार विकास निगमको गठन, कृषिजन्य उत्पादनमा जोड, नगरलाई शैक्षिक हवका रुपमा विकास गर्ने लगायतमा एमालेले विशेष जोड दिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?