पाेखरा महानगरमा हाजिर स्पष्ट नराखी कर्मचारीलाई ७ कराेड भन्दा बढी रकम भुक्तान

अनुप प्रकाश पाैडेल
  • ख-
  • ख+

अनुप प्रकाश पाैडेल, पाेखरा । कास्कीकाे पोखरा महानगर पालिकाले आफ्ना कर्मचारीहरुको हाजिर विवरण व्यवस्थित नगरिकन उनीहरुलाई घर बिदा र संचित बिदा लगायतका नाममा ७ करोडभन्दा बढी रकम भुक्तान गरेको पाइएको छ । महानगरले पछिल्लो ३ वर्षको अवधीमा कर्मचारीको विदा र काजको विवरण प्रष्ट रुपमा राखेको छैन । यसरी विदा र काजको अभिलेख स्पष्ट रुपमा नराखी हाजिर गणना गर्ने कार्य नियन्त्रण हुनु पर्ने महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।

महालेखा परिक्षकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार पोखरा महानगरले कर्मचारीका लागि आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म उपदान खर्च, घर विदा, औषधी उपचार र संचित बिदा वापत ७ करोड २ लाख ८ हजार ५१५ रुपैयाँ भुक्तान गरेको छ ।
३ वर्षको अवधिमा उपदानतर्फ ४ करोड ३० लाख, घरविदामा १ करोड ४७ लाख र औषधोपचार र संचित विदाका लागि १ करोड २४ लाख भन्दा बढी रकम भुक्तानी गरिएको हो ।

पोखराले कर्मचारीको हाँजिर व्यवस्थित गर्नका लागि यस अघि नै विद्युतीय हाजिर प्रणाली खरिद गरेको थियो । २०७६/७७ सालमा विद्युतीय हाजिर प्रणाली खरिद गरिएको भए पनि त्यसले काम गरेको छैन । महालेखाका अनुसार गएको आर्थिक वर्षको लेखापरिक्षणको अवधि २०८० माघ २५ गतेसम्म पनि त्यो विद्युतीय प्रणालीमार्फत विवरण महानगरले राखेको छैन ।

पोखराले पास मिडियासँग सम्झौता गरी डिजिटल हाजिर प्रणाली खरिद गरेर पनि त्यसको उपयोग भने नगरेको हो । विगतका वर्षहरुमा समेत विदा र काजको अभिलेख प्रणाली नराखि कर्मचारी हाजिर अव्यवस्थित गर्ने गरेको महानगरले त्यस्तो प्रवृत्लिाई निरन्तरता दिएको देखिन्छ ।
विद्युतीय हाजिर प्रणाली खरिद गरेर जडान पश्चात पनि प्रष्ट विवरण नहुँदा यसले गम्भिर प्रश्नहरु खडा गरेको पाइन्छ ।

प्रणाली खरिदको औचित्यमाथि पनि विभिन्न आशंका देखिन्छ । त्यसैगरी स्पष्ट विवरण बिना कर्मचारीलाई गरिएको भुक्तानि पनि शंकास्पद हुन पुगेको छ ।

महानगरले नगरप्रहरीलाई अतिरिक्त समयमा काम गरे बापत भन्दै तलव बाहेक छुट्टै रकम समेत भुक्तान गरेको छ । उनीहरुलाई वार्षिक २९ लाख २३ हजार २०० रुपैयाँ अतिरिक्त रकम भुक्तान गरेको हो । २६ जना नगरप्रहरीले हाजिरको आधारमा अतिरिक्त समय कार्य वापत दैनिक ३०० र ६०० रुपैयाका दरले रकम पाएका हुन् ।

यस्तो रकम सुविधा उपलब्ध गराउँदा कार्यालयले कार्यविधि तयार गराउनु पर्दछ । तर महानगरकै वरिष्ठ कानुन अधिकारी नारायण प्रसाद शर्मा समेतलाई दैनिक हाजिरको आधारमा अतिरिक्त रकम भुक्तान दिइएको छ ।

महानगरको यस वर्षको बेरुजु मात्रै ७९ करोड २३ लाख ७५ हजार पुगेको छ । त्यसमध्ये असुल उपर गर्नुपर्नै १७ करोड ११ लाख ४८ हजार, प्रमाणित काजग पेश गर्नुपर्ने १८ करोड ४३ लाख १३ हजार, नियमित गर्नु पर्ने ३८ करोड ११ लाख ८३ हजार र पेश्की बाँकी ५ करोड ४८ लाख ८७ हजार रहेको छ । यससँगै महानगरको कुल बेरुजु रकम ३ अर्ब ५ करोड पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा मुलुकका ६ महानगरपालिकामध्ये पोखरा सबैभन्दा अगाडि देखिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?