कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको सार्वजनिक सुनुवाई सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

२६ असार । तनहुँ । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । किसानलाई प्रोत्साहन गर्न उनीहरुको पहिचान,वर्गीकरण,बिमा र सुलभ ब्याजदरमा ऋण प्रवाह गरिनुपर्नेमा बुधबार यहाँ आयोजित एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् ।
कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँद्वारा आब २०८०/२०८१ को संयुक्त रुपमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका पूर्वमन्त्री एवं साँसद हरिबहादुर चुमानले किसानको पहिचान र वर्गीकरण गरी अनुदानको व्यवस्था गर्न सकिए मात्रै किसानको जीवनस्तर माथि उठ्न सक्ने बताउनुभयो ।
सुख्खा र बर्षायाममा हुने कृषि र पशुजन्य विपदमा संम्बोधन गर्न संम्बन्धित मन्त्रालयमा विपद् कोष स्थापना गरिनुपर्छ,उहाँले भन्नुभयो “विपद्मा परेका कृषि र पशुजन्य किसानलाई तत्काल राहतको व्यवस्था गर्न सकिए बिस्थापित हुनबाट जोगाउन सकिन्छ ।”
गण्डकी प्रदेश साँसद श्यामराजा महतले किसानलाई प्राथामिकतामा राखेर काम गर्न सकिए मात्रै देशको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो ।
गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव टंक प्रसाद प्रसाईले अवैधानिकलाई निरुत्साहित र गुणस्तरलाई ग्यारेण्टी गर्दै उत्पादनका आधारमा किसानलाई अनुदान दिने कार्यक्रमलाई प्रभावकारी किसिमले अघि बढाउन सकिने बताउनुभयो ।

कृषिलाई रुपान्तरण गर्न आधुनिकरणमा जोड दिइनुपर्छ,उहाँले भन्नुभयो “बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन पुर्नस्थापन कार्यक्रमलाई प्राथामिकता दिन आवश्यक छ ।”
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कृषिलाई संरक्षण र सम्बद्र्धन गर्न व्यवसायिक कृषि पेशालाई जोड दिइनुपर्ने बताउनुभयो ।
कृषिलाई सुलभ ब्याजदरमा ऋण प्रवाह गरी किसान वर्गीकरणका आधारमा उत्पादनको परिणाम हेरी अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कृषि र पशुपालनका लागि तनहुँमा प्रचूर संम्भावना रहेकाले खडेरी र बर्षाबाट हुने क्षतिमा राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछाने र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा।राजेश कुमार चौधरीले कार्यालयले बार्षिक रुपमा गरेका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रममा जिल्लाका दश वटै पालिकाका व्यवसायिक किसान,संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समन्वय नेपाल पत्रकार महासंघ तनहुँ शाखाले गरेको थियो । कार्यक्रम संचालन शाखाका अध्यक्ष उज्वल पौडेलले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?