प्रचण्डलाई डा. बाबुराम भट्टराईको प्रश्न अदालत र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन ?

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय सत्ताबाट आउट भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोश पोखिरहेका छन् । प्रचण्ड सत्ता बहिर्गमन भएपछि बाबुरामले निरन्तर प्रहार गर्दै आइरहेका छन् ।

प्रचण्ड सत्ताबाट हटेपछि समाजवादी मोर्चा ब्यूँताएको छन् । मोर्चामा प्रचण्डले बाबुरामलाई अटाएनन्। तर, अहिले उनैको पार्टीबाट अलग भएर आएका महेन्द्र यादवलाई समावेश गराएपछि थप रुष्ट बनेका छन् ।

उनले भनेका छन्, ‘पहिले सत्तामा छँदा उहाँहरूलाई सांसद संख्या पुर्याउनु थियो । अर्को पार्टीबाट निर्वाचन लडेको र जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनावचिन्ह लिएको) मान्छेलाई जबर्जस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गर्नुभयो ! हामीले स्वीकार्यौं !’

उनले गण्डकी प्रदेशको मुद्दामा सर्वोच्च अदालतले जुन दलको उम्मेदवार हो सोही दलको सांसद रहने अन्तरिम आदेश दिइसकेको उल्लेख गरेका छन् । उनले दल त्याग गरिसकेको यावद समूहलाई कानून बमोजिम सबै प्रक्रिया पुर्याएर पार्टीबाट बिदा गरिसकेको जिकिर गरेका छन् ।

अध्यक्ष भट्टराईले भनेका छन्, ‘अहिले उहाँहरू सडकमा पछारिनु भएको छ ! ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा÷ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहनु भएको छ ! केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहनु भएको छ ।’

उनले निवर्तमान प्रम र पूर्वप्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन ? भन्दै प्रश्न गरेका छन् ।

प्रचण्डलाई लक्षित गर्दै उनले थपेका छन्, ‘उहाँहरू संविधान र कानून भन्दामाथि हो ? राजनीतिमा नैतिकता र मूल्यमान्यता भन्ने केही जिनिस हुँदैन ? सत्ता नै सबै थोक हो ? यसरी आउँछ ‘समाजवाद’ ? ’

उनले त्यसअघि प्रचण्डको तेस्रो पटकको लज्जास्पद सत्ता बहिर्गमनपछि माओवादीले कुनै अदृश्य षड्यन्त्रको सिद्धान्त आविष्कार गरेर सत्यतथ्यलाई विषयान्तर नगर्न भनेका थिए । आत्मरति लिनु सट्टा गम्भीर आत्मसमीक्षा गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

त्यसअघि प्रचण्डलाई नै प्रहार गर्दै उनले लेखेका थिए, ‘अब समाजवादी केन्द्रको नयाँ ढोक्सारढडियारजाली त्यो पनि अरूबाट चोरेको ।’

समाजवादी मोर्चा बनाउनेदेखि पार्टी एकता गरेर अघि बढ्ने सहमति गत निर्वाचनमा प्रचण्ड र बाबुरामबीच भएको थियो। तर, निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बने सहमति तोडियो । बाबुरामलाई नै बाइपास गरेर प्रचण्डले एकलौटी रुपमा समाजवादी मोर्चा घोषणा गरेपछि बाबुराम रुष्ट छन् ।

मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव र उपेन्द्र नेतृत्वको जसपा सहभागी थियो । तर, एमाले अध्यक्ष ओलीसँग मिलेर सरकार सरकार जोगाउन पार्टी फुटाएपछि अहिले जसपा मोर्चाबाट बाहिरिएको छ । जसपा बाहिरिएपनि महेन्द्र यादव नेतृत्वको नेसपाका नेताहरू हिजोको मोर्चाको बैठकमा सहभागी भएपछि थप आक्रोश पोखेका छन् ।

त्यसो त कांग्रेस-एमाले मिलेर प्रचण्ड सत्ताबाट बाहिरिने बित्तिकै उनले सबैलाई सधैंभरि ठग्न नसकिने टिप्पणी गरेका थिए ।

उनले भनेका थिए, ‘चर्चित भनाइ छ–केहीलाई सधैंभरि ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरि ठग्न सकिन्नँ । सन्दर्भ बुझौं ।’

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?