काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा टेकअफ लगत्तै सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।
उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।
उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए। प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका पाईलटलाई जीवितै उद्धार गरिएको छ ।
एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । उक्त दुर्घटनाका कारण विमानस्थलमा आन्तरिक उडान केहिबेर प्रभावित भएको थियो ।
साभारः नेपाल प्रेस








