घरेलु काममा राखिएकी किशोरीमाथि ३ वर्षदेखि करणी आरोपमा ५४ वर्षीय घरबेटी पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । बालिका करणी आरोपमा कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षीय पुरुष पक्राउ परेका छन् । किशोरीले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आरोप लागेका पुरुषलाई पक्राउ गरिएको हो ।

गएको ६ वर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रुपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जवर्जस्ती करणी गरिरहेको किशोरीले बताएकी छन् । उनी अहिले १७ वर्षकी छिन् ।

बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन गरेका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्थाका विषयमा जानकारी लिने गरेका छन् ।

यसरी प्राप्त गरिएको जानकारी र संयुृक्त अनुगमन टोलीले गरेको अनुगमनपछि तयार पारिएको प्रतिवेदनले बालिकामाथि यौनजन्य दुर्व्यवहार भएको देखिएको जनाइएको छ । प्रमुखको सचिवालय सदस्य धिरज जोशी भन्छन्, ‘यो प्रतिवेदन आफैँमा जाहेरी हो । हामीले बालिकाका अभिभावकलाई पनि बोलाएका छौँ । अब कारवाही प्रक्रिया अगाडि बढ्छ ।’

आरोपित व्यक्तिलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ ।

अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई उद्धार गरिसकिएको छ । जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ । सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको जोशीले जाए ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?