कार्तिक २७ देखि मंसिर १ सम्म दोस्रो मर्स्याङ्दी महोत्सव हुने

सर्वज्योति
  • ख-
  • ख+

बेसीशहर । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आगामी कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म विभिन्न स्थानमा विभिन्न कार्यक्रमका साथ दोस्रो मर्स्याङ्दी महोत्सव २०८१ आयोजना गर्ने भएको छ ।
गाउँपालिकाले २०७५ मंसिरमा पहिलो मर्स्याङ्दी महोत्सवको आयोजना गरेको थियो । यसपटक ५ दिन विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मर्स्याङ्दी महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
उनका अनुसार स्थानीय कला संस्कृतिको संरक्षण र ग्रामीण पर्यटनको प्रवर्द्धनका लागि महोत्स्वको आयोजना गर्न लागिएको हो । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्रीवितरण समेत गरिने भएकाले स्थानीयले महोत्सवबाट लाभ लिन सक्छन् ।
गाउँपालिकाले कार्तिक २७ र २८ गते धार्मिक मेला (हरिबोधनी एकादशी मेला), मर्स्याङ्दी गाउँपालिका ३, खुदी बेनीमा आयोजना गर्ने भएको छ । यो २ दिन फूलको डोरी तार्ने, साँस्कृति कार्यक्रम, वडास्तरीय भलिबल प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता, स्वास्थ्य शिविर, राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल पार्क, मर्स्याङ्दी ३, ढगैंबेसी अवलोकन, डा. हर्क गुरुङ समाधिस्थल पार्क, मर्स्याङ्दी ७, ताङ्लीचोक अवलोकनलगायत कार्यक्रम राखेको छ । यस कार्यक्रमलाई खुदी युथ सोसाइटी र खुदी टोल विकास संस्थाले सहआयोजकको रुपमा व्यवस्थापन गर्नेछ ।
कार्तिक २९ गते (जगत तातोपानी महोत्सव) मर्स्याङ्दी ४ जगतमा आयोजना गरिने भएको छ । उक्त दिन जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा विक्री वितरणलगायत कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई जगत टोल विकास संस्था तथा तातोपानी युवा क्लव जगतले सहआयोजकको रुपमा व्यस्थापन गर्नेछ ।
कार्तिक ३० गते (भीर मह शिकार)  को कार्यक्रम रहेको छ । यो कार्यक्रम वडा नं. २ घनपोखरा, ४ मिप्रा, ५ घेर्मु र ६ बाहुनडाँडा क्षेत्रका भीरहरुमा महशिकार महोत्सव हुनेछन् । यो दिन भीर मह शिकार अवलोकन तथा भीर मह शिकार डकुमेन्ट्रीको कार्यक्रम हुनेछ । उक्त कार्यक्रमलाई सहआयोजकको रुपमा वडा नं. २, ४, ५ र ६ ले व्यवस्थापन गर्नेछ ।
अन्तिम दिन मंसिर १ गते स्याँगे, बुङ छहरा र अक्टोपस झरना महोत्सव हुनेछ । मर्स्याङ्दी गाउँपालिका ४ स्याँगे र च्याम्चेमा हुने कार्यक्रममा झरनाहरुको अवलोकन, स्थानिय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा विक्री वितरण हुनेछ । कार्यक्रममा सहआयोजकको रुपमा स्याँगे टोल विकास संस्था, कन्यादेवी युवा क्लव मिप्रा, च्याम्चे टोल विकास संस्था तथा च्याम्चे युवा क्लवले व्यवस्थापन गर्नेछन् ।
महोत्सव अवधिभर होमस्टेको प्याकेज विक्री तथा प्रचारप्रसार गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले बताए ।

लमजुङ खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?