
काठमाडौं । कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक अपचलनसम्बन्धी मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता गरेको छ । यो मुद्दामा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई समेत अनुसन्धानमा तानिने प्रहरी स्रोत बताउँछ ।
सहकारीबाट नियमविपरीत रकम प्रवाह गरिएको र थुप्रै बचतकर्ताको रकम अपचलन भएको आरोपमा मुद्दा दर्ता भएको हो । यसअघि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको बेलामै मुद्दा दर्ताका लागि बचतकर्ताहरु कालिमाटीस्थित प्रहरी वृत्त पुगेका थिए । प्रहरीले जाहेरी दर्ता गर्ने तयारी गर्दा आईजी बसन्त कुँवरको निर्देशनमा रोकिएको आरोप लागेको थियो । त्यसलगत्तै काठमाडौं जिल्ला परिसरका प्रमुख (एसएसपी) भुपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान प्रमुख सोमेन्द्रसिंह राठौर अवधिअगाडि नै सरुवा गरिएका थिए ।
उक्त सहकारीमा कुनै समय रविकी पत्नी निकिता पौडेल उपाध्यक्ष र भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगम अध्यक्ष थिए । निकिताले समेत सो सहकारीबाट ऋण लिएकी थिइन् । सहकारी ऐनले सम्बन्धित संस्थाको सदस्य भई रकम बचत गर्ने व्यक्तिबाहेक अरुलाई ऋण प्रवाह गर्ने अनुमति दिएको छैन । निकिताले विनावचत ऋण लिएको पाइएको दाबी प्रहरीको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार निकिताले उपाध्यक्षबाट राजीनामा दिनुका साथै आफूले लिएको रकम पनि फिर्ता गरिसकेकी छन् ।
ती अधिकृत भन्छन्, ‘तर कसुरमा सहभागी भैसकेपछि रकम फर्काएको, पदबाट राजीनामा दिएको भनेर उन्मुक्ति मिल्दैन ।’
निकिताले रविसँग विवाह गर्ने बेलामा सहकारीले ऋण प्रवाह गरेको उक्त संस्थाका एक सञ्चालकले बताए । रविले २०७७ सालमा निकितासँग विवाह गरेका थिए । रवि र निकिता दुवैको यो दोस्रो विवाह थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले उक्त मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढेको स्वीकारे ।
‘अनुसन्धानको प्रारम्भिक चरणमा छौं’, उनले भने, ‘तत्कालीन र वर्तमान सञ्चालकलाई ल्याएर आवश्यक सोधपुछ गर्दैछौं ।’
नेपाल प्रेस