पाेखरा । घनश्याम लामिछानेकाे निर्देशनमा बोक्सी प्रथाविरुद्धकाे कथावस्तुमा निर्माण भएको चलचित्र ‘अग्निदहन’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रकाे ट्रेलर सार्वजनिकसँगै यसकाे प्रचार प्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि प्रचारप्रसार थालिएकाे हाे । चलचित्र पत्रकार संघ कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रकाे विषयमा जानकारी गराइएको थियो।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको चलचित्र ६ वर्ष अगाडि छायाँकन गरिएको थियाे। यसका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले अभियानकै रुपमा अगाडि बढाई देशका ५ सय भन्दा बढी ठाउँमा पुगेर चलचित्रकाे प्रदर्शन समेत गरिएको जानकारी गराए ।
“सुरुमा मान्छे बोक्सी हुन्न कहिल्यै किताब प्रकाशन गरिएको थियो । त्यसपछि गीत निर्माण भयो । सकरात्मक प्रतिक्रियाले पछि मात्रै चलचित्रकाे रुप लिएको हो ।”, उनले भने । यसलाई भोजपुरी र मैथली भाषामा समेत डब गरिएकाे छ ।
निर्देशक लामिछानेले अग्निदहन मनोरञ्जनात्मक मात्र नभई सामाजिक चेतना प्रवाह गर्ने चलचित्र भएको बताए । पृथक चलचित्र बनाइएको र स्वच्छ भावनाले काम गरिएकोले हलमा समेत दर्शकको माया पाउनेमा उनी विश्वस्त छन् । सिनेमा ९० मिनेटको भएको र सिनेमा हेर्दा आफ्नै सामाजिक परिवेशको कथा भेटिने भनाइ उनको छ ।
कलाकार प्रकाश घिमिरेले समाजलाई सन्देश प्रवाह गर्ने चलचित्र अभिनयका लागि आफ्नाे रोजाईमा पर्ने भन्दै बोक्सी प्रथा विरुद्धको कथामा कलाकारिता मार्फत गासिन पाउँदा खुशी लागेको बताए । कलाकार माओत्से गुरुङले चलचित्रमा अन्धविश्वासलाई प्रश्रय दिने खालको भूमिका आफ्नो रहेको बताए ।
कलाकार प्रमिला तुलाचन सिनेमामा बोक्सीका रुपमा प्रस्तुत भएकी छिन् । अहिलेसम्म नगरेको पात्रका रुपमा आफूले अभिनय गरेको उनकाे भनाइ छ । कलाकार तुलसी क्षेत्रीले आफ्नाे पहिलो चलचित्र भएकाले दर्शकको मन छुनेमा आशावादी रहेकाे बताइन् ।
लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वाँस्तोला, ताराबहादुर गुरुङ, उर्मिला पौडेल, माधवशरण पौडेल लगायतको अभिनय छ । सिनेमाका संरक्षक मोहनराज पौडेल हुन् ।