पत्रकार महासंघ चुनावमा कांग्रेस र एमाले निकटबीच गठबन्धन

सर्वज्योति
  • ख-
  • ख+

नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन्।

प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने प्रेस चौतारी एमालेको भ्रातृ संस्था हो।

संघीय र प्रदेश सरकार सञ्चालन गरिरहेको कांग्रेस-एमालेले पत्रकार महासंघमा गठबन्धन गरी उम्मेदवारी दिएका हुन्।

आमचुनावमा एक्लाएक्लै लड्ने घोषणा गरेका र नीतिसमेत लिएका यी कांग्रेस र एमालेले आफूनिकट संस्थाहरूलाई एक्लाएक्लै प्रतिस्पर्धा गराउन भने सकेनन्।

मंसिर २८ गते हुने महासंघको महाधिवेशनका लागि अध्यक्षसहित १३ सदस्यीय पदाधिकारीमा कांग्रेस-एमाले निकटले साझा उम्मेदवारी दिएका हुन्।

शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम थियो।

प्रेस युनियन अध्यक्ष शिव लम्साल र प्रेस चौतारी अध्यक्ष गणेश बस्नेतलगायतबीच भएको छलफलमा गठबन्धन गरी महाधिवेशनमा भाग लिने सहमति बनेको थियो।

कांग्रेसनिकट प्रेस युनियनले अध्यक्ष एमालेनिकट प्रेस चौतारीलाई छाडेर अधिकांश पदाधिकारीमा उम्मेदवारी दिएको छ। चौतारीले अध्यक्षसहित ५ पदाधिकारी र युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी लिने सहमति बनेको हो।

युनियनले वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारीलाई उम्मेदवार बनाएको प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले सेतोपाटीलाई जानकारी दिए।

यस्तै प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन र लेखा समिति सभापतिमा उम्मेदवारी परेको प्रेस चौतारीका सचिव राजेश राईले जानकारी दिए।

महासंघमा कांग्रेस(एमालेले प्रदेश र जिल्ला पनि भागबन्डा गरेका छन्। कोशी, मधेस, कर्णाली र उपत्यका अध्यक्ष प्रेस चौतारीले लिने र बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट र प्रतिष्ठान अध्यक्ष प्रेस युनियनले लिने सहमति छ।

महासंघका ४३ जिल्ला शाखा अध्यक्ष प्रेस युनियनले र ३४ जिल्ला अध्यक्ष प्रेस चौतारीले लिने सहमति भएको हो।

महासंघ अध्यक्षमा नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालबाट अध्‍यक्षमा कमल गिरीले उम्मेदवारी दिएका छन्।

गिरीको प्रस्तावक प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा र समर्थक समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी छन्।

प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपाल संयुक्त प्यानल बनाएर महासंघको महाधिवेशनमा उम्मेदवारी दिएका हुन्।

अहिले पत्रकार महासंघका महासचिव रहेका रोशन पुरीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। महिला उपाध्यक्षमा गंगा बराल, महासचिवमा लेखनाथ न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारी, सचिवमा उत्तर विष्ट, मधेसी सचिवमा सिर्जना झा, महिला सचिवमा सरिता बराइली,दलित सचिवमा बसन्त विश्वकर्मा, आदिवासी जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की र लेखा समिति संयोजक ध्रुव रावलको उम्मेदवारी परेको छ।

यसमध्ये उत्तर विष्ट र समावेशी उपाध्यक्षमा सुवास साह एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका हुन्।

यसअघि पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रहेका रमेश विष्टले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।

सदस्यता विवादका कारण अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएका थिए। सदस्यतासम्बन्धी विवाद लगभग हल गरेपछि महासं‌घले महाधिवेशन गर्न लागेको हो।

यसअघि पत्रकार महासंघको चुनाव २०७७ चैतमा भएको थियो। त्यसबेला प्रेस चौतारीकी निर्मला शर्मालाई हराउँदै प्रेस युनियनका विपुल पोख्रेल अध्यक्ष निर्वाचित भएका थिए।

त्यसबेला प्रेस युनियन, प्रेस सेन्टरलगायत पत्रकारका ११ संघसंस्थाले पोख्रेल नेतृत्वको प्यानललाई समर्थन गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?