नृत्य रिर्हसल सकिएपछि १४ वर्षिया डिम्पी तामाङको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

बेसीशहर । आगामी पुस २४ गते प्याब्सन लमजुङको स्थापना दिवस मनाइँदैछ । त्यसैका लागि प्रतियोगिताको रुपमा अहिले लमजुङका निजी विद्यालयमा नृत्यको अभ्यास भइरहेको छ ।
बेंसीशहर नगरपालिका ७, सातविसेस्थित भूपू सैनिक आवासीय माविमा पनि प्रतियोगिताकै लागि नृत्यको अभ्यास भइरहेको थियो । शुक्रबारको दिन नृत्य अभ्यासको दिन थियो । चोथो पिरियड सकिएपछि नृत्यको प्राक्टिस सुरु भयो ।
नृत्यमा सहभागी मध्ये एक थिइन् १४ वर्षिया डिम्पी तामाङ । लमजुङको दोर्दी गाउँपालिका ८, माथिल्लो दुवारका उनी बेंसीशहर बसेर पढ्दै आएकी थिइन् । उनका बुवा भने बैदेशिक रोजगारीको लागि विदेशमा छन् ।
विद्यालयको एउटा हलमा नृत्य प्राक्टिस भइरहेको थियो । नृत्य प्रीति गुरुङले सिकाइरहेकी थिइन् । त्यतिकैमा प्रिन्सीपल विनोद गुरुङ पनि आइपुगे । पुरै एकचरण गीत प्राक्टिसका लागि विद्यार्थीहरु तयार भए ।
जव गीत सकियो, अन्तिममा डिम्पीले खुट्टा चलाइनन् । प्रीतिले ‘के भयो ? थकाइ लाग्यो ?’ भन्नासाथ डिम्पी भुईंमा लडिन् । त्यसपछि विद्यालयमा खैलाबैला भयो । तत्काल लमजुङ अस्पताल लगियो । अस्पतालमा डाक्टरहरुले प्रयास गर्दा पनि उनी बाँच्न सकेनन् ।
विद्यालयका प्रिन्सीपल विनोद गुरुङले सोँच्दै नसोँचेको, निकै दुःखद् घटना घटेको र विद्यालय परिवार स्तब्ध बनेको बताए । प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले विद्यालयमा नृत्य सिक्ने क्रममा लडेर विद्यार्थी अचेत भएको र त्यसपछि अस्पताल ल्याइएको थियो । त्यसपछि डाक्टरहरुले मृत घोषणा गरे । मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
साभारः लमजुङ खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?