१० बर्षमा वैदेशिक रोजगारीमा गएका १० हजार भन्दा बढी नेपालीको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली श्रमिकको विदेशमा मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।

अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्रममा १० हजार २ सय ७४ नेपालीले ज्यान गुमाएका छन् ।

गत आवमा मात्र १ हजार ४ सय ९२ नेपाली श्रमिकले ज्यान गुमाएको र ५ सय ७८ जना अंगभंग भई स्वदेश फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ ।

२०७१/७२ मा ६ महिला र १ हजार पुरुषको प्रवासमा ज्यान गएको थियो । २०७२/७३ मा २४ महिला र ७ सय ८९ पुरुष गरी ८१३ को मृत्यु भएको देखिन्छ । २०७३/७४ मा १८ महिला र ७ सय ३७ पुरुष गरी प्रवासमा ७ सय ५५ जनाको ज्यान गएको थियो ।

यस्तै २०७४/७५ मा ८ सय पुरुष र २१ महिला कामदारको विदेशमा ज्यान गएको थियो । त्यसपछि २०७५/७६ मा ७ सय ९६, २०७६र७७ मा ६ सय ५६, २०७७/७८ मा १ हजार २ सय ४९, २०७८/७९ मा १ हजार ४ सय ७९, २०७९/८० मा १ हजार २ सय ८ र २०८०/८१ मा १ हजार ४ सय ९२ नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।

जिफन्टका अनुसार वैदेशिक रोजगार विभागले मृतक संख्या गन्ने र श्रमिककै पैसाले बनेको कल्याणकारी कोषबाट मृतकको परिवारलाई भुक्तानी दिनुबाहेक केही गरेको देखिँदैन ।

गन्तव्य मुलुकमा श्रमिकको मृत्यु रोक्न कार्यस्थल तथा आवासको अवस्था सुधारका लागि सरोकारवालासँग छलफल गर्ने योजना बनाउनेतर्फ कुनै वास्ता नगरिएको जिफन्टको भनाइ छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार विदेशमा मृत्यु भएका अधिकांश व्यक्तिको मृत्युको कारण प्राकृतिक, हृदयाघात वा अचानक भएको मृत्यु लेखिएका कारण मृतक श्रमिकका परिवार गन्तव्य मुलुकबाट क्षतिपूर्ति लिनबाट पनि वञ्चित छन् ।

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?