किशोरीलाई लमजुङबाट अपहरण गरी भारत लगेको आरोपमा एकै परिवारका ३ जना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

बेसीशहर । लमजुङ सदरमुकाम बेंसीसहर बस्दै आएकी एकजना किशोरीलाई अपहरण गरी भारत लगेको आरोपमा प्रहरीले एकै परिवारका ३ जनालाई पक्राउ गरेको छ ।
एकजना स्कुले विद्यार्थी १४ वर्षिया किशोरीलाई अपहरण गरी भारत लगेको आरोपमा लमजुङ प्रहरीले भारतको मोतिहारी जिल्ला घोडासान थाना बकुलिया ५ घर भई हाल बेंसीशहर नगरपालिका ७, सहजी बस्दै आएका ४० वर्षिय सेख सइतुला, उनका श्रीमती र छोरालाई पक्राउ गरेको जनाएको छ ।
ती किशोरीलाई मंसिर २४ गते विहान ललाई फकाई बेंसीशहरबाट लगेको र नेपाल–भारत सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको प्रहरीले जनाएको छ । ती क्षेत्रबाट नै सेख परिवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
प्रहरी स्रोतका अनुसार सेखले आफ्नो छोराले छोरी भगाएको भनी किशोरीकी आमालाई फोन गरेपछि घटना बाहिरिएको थियो । उनले आफू लमजुङमै रहेको र छोराले भारततर्फ लगेको भनी फोन गरेका थिए । घटनामा उनी आफैं संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी स्रोत बताउँछ ।
प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरी सोमबार लमजुङ ल्याएको छ । उनीहरुविरुद्ध मंगलबार अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुर मुद्दामा लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सेख परिवार बेंसीसहरको सहजीमा बसेर सिरक डसना बनाउने र विक्रीवितरण गर्ने कार्यमा सक्रिय थिए । किशोरीलाई भारत लानुअघि मोवाइल समेत किनिदिएको प्रहरी स्रोत बताउँछ । किशोरीलाई प्रलोभनमा पारेर भारत लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।
साभारः लमजुङ खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?