स्वास्थ्य बीमा बोर्डको नीतिप्रति अस्पतालहरू असन्तुष्टः टिचिङ, मनमोहन र गंगालालको सेवा बन्द

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले परिमार्जन गरेको सुविधाथैली अन्तर्गतको दर रेटमा अस्पतालहरू असन्तुष्ट बनेका छन् ।

भदौ १ गतेदेखि लागू हुनेगरि बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा दर रेट, २०८१ ल्याएको छ । उक्त दर रेटबारे असन्तुष्ट जनाउँदै तीन अस्पतालहरूले आफ्नो सेवा बन्द गरेका हुन् ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार त्रिवि शिक्षण अस्पताल, मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पताल र शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले स्वास्थ्य बीमा सेवा बन्द गरेका हुन् ।

सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा दररेटमा असन्तुष्टि जनाउँदै यी तीन अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गरेका हुन् ।

‘बोर्डले सुविधा थैली अनुसार दररेट निर्धारण गरेको छ । दररेटमा असन्तुष्ट रहेको भन्दै तीन अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्द गरेका हुन्’, उनले भने ।

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा इन्चार्ज प्रशुन तामाङले भर्ना र अपरेसन गर्नुपर्ने बिरामीहरूको हकमा मात्रै बीमा सेवा दिन असमर्थ रहेको दाबी गरे ।

उनले भने, ‘हामीले इमरजेन्सी र ओपिडीका बिरामीहरूलाई स्वास्थ्य बीमा सेवा दिइरहेका छौँ । तर, भर्ना हुनुपर्ने बिरामी र अपरेसन गर्नुपर्ने बिरामीहरूलाई भने हामी सेवा दिन असमर्थ भएका हौँ ।’

सुविधा थैली अन्तर्गतको दररेटका विषयमा अस्पताल असन्तुष्ट रहेको उनले स्पष्ट पारे । दररेट परिमार्जन नभएसम्म भर्ना र अपरेसन गर्नुपर्ने बिरामीहरूलाई बीमा सेवा दिन नसकिने अस्पताल प्रशासनको अडान छ । यसबारे बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयसँग पटक–पटक छलफल समेत भइसकेको छ ।

दररेट संशोधन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको समेत बोर्डका सूचना अधिकारी मल्लले जानकारी दिए । उनले भने, ‘दररेट संशोधन गर्नेबारे हामीले मन्त्रालयसँग छलफल गरिरहेका छौँ । छिट्टै नै यसबारे टुङ्गो लगाउँछौँ ।’

यी अस्पतालहरूले भदौ १५ गतेदेखि नै बीमा सेवा बन्द गरेका छन् । लामो समयसम्म अस्पताल र बोर्डबीचको विवाद टुङ्गो नलाग्दा बिरामीहरू सेवा पाउन बञ्चित भएका छन् ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?