ओली र प्रचण्डलाई बाबुरामको प्रश्न: कुर्सीमा नै स्वर्गारोहण चाहनुहुन्छ ?

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौ । राजधानीमा आइतबार सुरु भएको दुई कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रोचक टिप्पणी गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक समेत रहेका भट्टराईले दुवै पार्टीको एकैदिन बैठक सुरु हुनुलाई आकस्मिकता मात्र हुन सक्ने बताएका छन् ।

झण्डै पाँच दशक कम्युनिष्ट पार्टीको नेतृत्व तहमा रहेर राजनीतिक गरेका भट्टराईले दुई पार्टीको बैठकलाई केही सुझाव समेत दिएका छन् ।

‘उनीहरू (एमाले र माओवादी केन्द्र) ले अर्कालाई पूरै अशुद्ध र आफूलाई चौबीस क्यारेटको शुद्ध कम्युनिष्ट प्रमाणित गर्न न्वारानदेखिको बल लगाउनेछन्’ उनले लेखेका छन्, ‘दुवै ठूला नेताका बफादारहरूले शब्दकोशमा भएका सबै शब्द छानीछानी आफ्नो सर्वोच्च नेताको देवत्वकरण र अर्कोको दानवीकरण गर्नेछन् ।’

दुवै पार्टीको बैठकमा कम्युनिष्ट नेताहरू किन कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् भन्ने प्रश्नको जवाफ नखोजिने जिकिर भट्टराईको छ ।

एमाले र माओवादी केन्द्रको बैठक बारे भट्टराईको टिप्पणीः

नेपालका करिब एक दर्जन ‘कम्युनिष्ट’ नाउँ रहेका पार्टीहरूमध्ये संसदीय गणितका हिसाबले दुई ठूला पार्टीहरू एमाले र माकेको केन्द्रीय समितिको बैठक एकै दिन (पौष २१) सुरू हुनु आकस्मिकता मात्र हुनसक्छ। बैठकको दस्तावेज र निर्णयहरू बाहिर आएपछि मात्रै उनीहरूबीचको समानता/असमानता र उनीहरूको आगामी दिशा बढी प्रष्ट हुनेछ।

तैपनि उनीहरूको विगत र प्रमुख नेताहरूको प्रवृत्तिलाई हेरेर सहज अनुमान गर्न सकिन्छ: उनीहरूले अर्कालाई पूरै अशुद्ध र आफुलाई चौवीस क्यारेटको शुद्ध ‘कम्युनिष्ट’ प्रमाणित गर्न न्वारानदेखिको बल लगाउनेछन् ।दुवै ठूला नेताका वफादारहरूले शब्दकोशमा भएका सबै शब्द छानीछानी आफ्नो सर्वोच्च नेताको देवत्वकरण र अर्कोको दानवीकरण गर्नेछन् ।

दुवैका बैठकमा तीस वर्ष पहिले विश्वका १६ देशमा कम्युनिष्ट पार्टीको एकल शासन भएकोमा अहिले किन ५ देशमा मात्र सीमित भए? संसदीय चुनावबाट सरकारमा पुगेका छिमेकी भारतका तीन प्रदेशमध्ये किन अब एउटा मात्र बाँकी छ?

किन सत्तामा पुगेपछि  आफुलाई सर्वहारावर्गको नेता भन्नेहरू उल्टै नयाँ नोकरशाही पुँजीपति वर्गमा रूपान्तरित हुन्छन् र कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् ? आदि गम्भीर प्रश्नहरूबारे खासै वहस छलफल हुनेछैन।

त्यसैले हाम्रो विनम्र सुझाव छ:

नेपालको विशिष्ठ भूराजनीतिक अवस्था, अत्यन्त पिछडिएको आर्थिक-सामाजिक संरचना, लामो समयसम्मको निरंकुश राजतन्त्रात्मक शासनप्रणाली आदिको सन्दर्भमा हिजो पूँजीवादी लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालमा ‘कम्युनिष्ट’ ब्राण्ड स्थापित र पपुलर भएको हो। अब २१ औं शताब्दीको नयाँ युगको नयाँ कार्यभार पुरानै कम्युनिष्ट भाष्य, नीति, कार्यक्रम, संगठन, नेतृत्व, शैलीबाट पूरा गर्न सम्भव छैन। बेलैमा आफूलाई आमूल रूपान्तरण नगरे पुरानै ‘कम्युनिष्ट’ ब्राण्ड अब क्रमशः क्षयीकरण हुँदै जाने मात्र हो। चीनलगायत हिजो पूर्ण जनक्रान्तिबाट एकल सत्तामा पुगेकाहरूको सन्दर्भ अर्कै हो।

अर्कोतिर, विश्व र नेपालमा कायम रहेको नव-उदारवादी पूँजीवादले ल्याएको विश्वव्यापी वस्तु र सेवाको प्रचुरता बीच चरम आर्थिक-सामाजिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हातहतियारको विभीषिका, एआईको संशय आदिले संसारले नयाँ उत्तर-पुँजीवादी विकल्प खोजेको प्रष्टै छ। नेपाल भने भर्खरै पूँजीवादी चरणमा संक्रमण गरेकाले एकैसाथ पुँजीवादी र उत्तर-पुँजीवादी राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक प्रणाली बीच तालमेल मिलाएर हिंड्नुपर्ने अत्यन्त चुनौतीपूर्ण अवस्थामा छ।

विश्वमा र नेपालमा चलिरहेको वैकल्पिक राजनीतिको विमर्शको चुरो कुरा यही हो। हाम्रो संविधानमा उल्लिखित ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद’ भन्ने पदावलीको आशय पनि हाम्रा विचारमा त्यही हो। यस बारे सबै दलका बैठक, भेला, सम्मेलन, अधिवेशनमा र सार्वजनिक मञ्चहरूमा बहस होस्। शुभकामना ।

साभार:अनलाइनखबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?