तनहुँ जिल्ला त्यसै त नेतै नेताहरुले भरिएको जिल्ला , राष्ट्रको उच्च पदमा पुगेकादेखि चियापसलतिर आफुलाई सर्वमान्य नेता मान्नेहरुको कमी छैन तनहुँमा । यसैबिच केपी शर्मा ओली नेतृत्वको सरकारले अन्य धेरै जिल्लाहरुमा जस्तै तनहुँमा पनि भुमि आयोगको अध्यक्ष पाएको छ भानु नगरपालिकाका बासिन्दा गोविन्दराज सिलवाल । जो पुर्व वडा अध्यक्ष हुनुहुन्छ भने नेपाली कांग्रेसका घगडान नेताहरुका अनुसार उहाँ पुर्व वडा अध्यक्षमात्र होईन कांग्रेस भएर तनहुँमा कांग्रेसलाई हराउन दिलोज्यानले लाग्ने कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीका समर्थक पनि हुनुहुन्छ । खैर ति कुरालाई छोडौ अब उहाँ सम्बन्धित भुमि आयोग कै कुरा गरौ ।
व्यास नगपालिका वडा नंं १० हाल वडा कार्यालय रहेको स्थानलाई नयाँ बस्ति भन्ने गरिन्छ जुन सुकुम्वासी बस्ति रहेको छ । पंचायतकालदेखि सुकुम्वासीहरुको बसोवास रहेको त्यहाँका बासिन्दाले भोटको लागि अनेक आश्वाशन दिने नेता भेटेपनि कहिले सुकुम्वासी समस्या समाधान आयोग, कहिले भुमि आयोग, कहिले राष्ट्रिय भूमि समस्या समाधान आयोग, कहिले के आयोग भन्दै सिलवालजस्ता धेरै जना अध्यक्ष भएको सुनेपनि हालसम्म सक्कली लालपुर्जा पाएर सिरानीमा च्यापेर सुत्न पाएका छैनन् । त्यसेगरि पृथ्वीराजमार्ग अन्तर्गत पर्ने चर्चित स्थान घाँसिकुवा पारि व्यास नगरपालिका वडा नं. ११ मा कोकले डाडा भन्ने स्थान छ । उक्त स्थान पनि पंचायतकालमा स्थापना भएको बस्ति हो त्यहाँका मानिसहरुले पनि धेरै आश्वाशन पाए, धेरै भाषणहरु सुने, लालपुर्जा पाईन्छ भन्ने आशमा धेरै पटक भोटहरु पनि हाले तर पनि लालपुर्जा नामको चिकर्टो सिरानमा हालेर सुत्ने साईत आजसम्म जुरेको छैन । सरकार फेरिएपिच्छे विभिन्न आयोगमा कार्यकर्ता भर्ति गरेपिच्छे ”अब त हाम्रो जग्गाको पनि लालपुर्जा पाईन्छ रे !” भन्ने खुशीयाली मनाउदा मनाउदै कोहि परमधाम भईसके, कोहि अझै पनि लालपुर्जा पाईन्छ कि भनेर बाटो हेरेर बसिरहेका छन् । व्यास १० नयाँ वस्ति र व्यास ११ कोकलेडाडाका प्रतिनिधि गाँउहरु हुन् तनहुँ जिल्लामा त्यस्ता सयौ गाँउका सुकुम्वासी, भुमिहिन, दलितहरु भुमि आयोगको बाटो हेर्दै बसिरहेका छन् । सुकुम्वासी, भुमिहिन, दलितहरु यसरी बसिरहदाँ गज्जबको कुरा त विभिन्न समयमा गठन भएका विभिन्न आयोगहरुले जिल्लाका मुल्यवान जग्गाहरु, खोला, खोल्सि, जंगल, मसानघाट छेउछाउका हजारौ रोपनी जग्गा व्यक्तिका नाममा बनाई दिईसकेको कहिकतै छिपेको छैन । यस्तैमा फेरि वर्तमान् सरकारले कार्यकर्तालाई जागिर दिने मेसो हो कि के हो फेरि राष्ट्रिय भूमि समस्या समाधान आयोगमा आफ्ना कार्यकर्तालाई जागिर दिन विभिन्न जिल्लामा अध्यक्ष र केहि जिल्लामा सदस्यहरु तोकेको छ ।
भुमि आयोगको कुरा गर्दा यहाँ एउटा प्रसंग उप्काउनु उपर्युक्त हुन्छ तनहुँकैेआँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमि आयोगका पुर्वअध्यक्ष हाल भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी लक्षित एउटा टिप्पणी गर्नुभएको थियो ”हामीले गाउँपालकाबाट सम्पूर्ण प्रक्रिया पुरा गरिसक्यौ तर भुमि आयोग लालपुर्जा वितरणलाई राजनीतिक मुद्धा बनाउन चाहन्छ । लालपुर्जा वितरण गरिदिनोस् भन्दा गर्दै गर्दैन । अब चुनाव आएपछि सुकुम्वासीलाई लालपुर्जा बाड्छौ भन्नको लागि होला ?” भुमि आयोग तनहुँका पुर्वअध्यक्ष हाल भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीको पालामा मात्र होईन निवर्तमान अध्यक्ष रामचन्द्र अधिकारीको पालामा पनि शुक्र चुमानले ”लालपुर्जा वितरण गरिदिनुस् ” भन्ने आग्रह गर्दै अध्यक्षसग अलि दरोसग कुरा गरेको समितिका सदस्यहरुले ”कसैलाई नभन्नु है” भनेर सुनाएको कुरा कहि कतै छिपेको छैन ।
सुकुम्वासी, भुमिहिन, दलितको लागि भन्दै सुकुम्वासी समस्या समाधान आयोग, कहिले भुमि आयोग जे जे गठन गरेपनि सरकारी राजश्वमा तर मार्न, गाडि चढ्न राजनीतिक कार्यकर्ता नियुक्त गर्नु र सुकुम्वासी, भुमिहिन, दलितको लागि भन्दै हुकुम्वासीको लागि काम गरेको आयोगले हाम्रो लागि काम गर्ला भन्ने सरोकारवाला व्यक्तिहरुले कत्तिपनि विश्वास लिएका छैनन् । त्यहि हो अब जनताले तिरको करमा रजाई गर्दै गाडीमा हुईकिदै, तेलका कुपनका कुपन काट्दै, अनेकन थरि सदस्यका नाममा राजनीतिक पार्टीको खोल ओडेकाहरुले तलब भत्ताको नाममा लाखौ रकम कुम्ल्याउनेछन्, जग्गाधनि पुर्जा दिएपनि राजनीतिक आस्थाको आधारमा , आफ्नो भोट बैकक्षेत्र हेरेर लालपुर्जा वितरण गर्नेछन् । गौली आयोगदेखि अधिकारी आयोगसम्म आईपुग्दा के कति सार्वजनिक जग्गाहरु व्यक्तिका नाममा गयो ? के कति सुकुम्वासी, भुमिहिन, दलितले लालपुर्जा पाए ? तनहुँवासीहरु नबोलेका हुन् सबैलाई प्रष्टसग थाहा छ । नवनियुक्त अध्यक्ष सिलवाललाई नियुक्त हुनुभन्दा अगाडि तनहुँ कांग्रेस संस्थापन पक्षको विरोधी मान्छे, द्धन्दकालमा पार्टीको सदस्य नविकरण नगर्ने मान्छे, माओवादीसगको मिलेमतोमा ठेक्कापट्टा गर्ने मान्छे भनेर आरोप लगाएपनि सिलवालले साच्चै सुकुम्वासी, भुमिहिन, दलितको पक्षमा काम गर्छन् कि सरकारी गाडी चढ्ने तलब भत्ता बुझे झैं गर्दै कार्यकाल सकिन लाग्दा ”हामीले काम त गरेकै थियौ तर विविध कारणले सम्पन्न गर्न पाएनौ” भन्छन् त्यस्को प्रतिक्षा सबैले गरिरहेका छन् ।
अन्तमा स्तम्भकारले पत्रपत्रिकामा ”तनहुँका सार्वजनिक जग्गाहरु व्यक्तिका नाममा भए सबै जाग्नुपर्यो” भनेर लेख लेखेको बेला दमौली बजारमा भेट हुदाँ नेपाली कांग्रेसका तनहुँका एकदमै राम्रा नेता स्वर्गिय झुल बहादुर आलेले ”माधब बाबु तपाईले एकदमै ठिक कुरा लेख्नुभयो , के गर्नु यीनीहरुलाई जति भने पनि लागेन” भन्नुभयो । म पनि छुच्चै मान्छे ”बुढा तपाईले पनि अलि अलि हात पार्नुभयो होला नि त ! तपाई पनि तनहुँको चल्ताफिर्ता नेता” हाँसि हाँसि भनिदिए । उहाँले आमाको कसम खाएर ”साथीभाईले ल यसो गरौ उसौ गरौ भन्थे, मैले बरु मागेर खान्छु चाहिएन भने बाबु” भन्नुभयो । अनि मैले ”फालानो पार्टी (केहि पार्टीको नाम तोकेर) का ले धेरै दर्ता गरे भन्छन् नि होईन र ? ति त त्यस्ता भए तिनीहरु (अर्को पार्टीको नाम तोकेर) के भएका नि ? ” भनेर सोधेको उहाँले सारै गुह्य कुरो खोल्नुभयो ‘‘ उनीहरु ( मैले पहिले नाम तोकेको पार्टीको नाम लिदै) ले एक सय रोपनी आफ्नो नाममा दर्ता गर्ने उनीहरु (मैले लिएको दोश्रो पार्टीको नाम लिदै ) लाई एक रोपनी दिएपनि दुघको साक्षी बिरालो, तनहुँको सार्वजनिक जग्गा व्यक्तिको नाममा जानुमा भएको चाँहि यत्ति हो ।”
हेरौ भूमि समस्या समाधान आयोग तनहुँका नवनियुक्त अध्यक्ष गोविन्दराज सिलवालको कार्यकालमा सार्वजनिक जग्गा, खोला खोल्सितिर, हाईवे नजिकका सालघारीहरु, मसानघाटका छेउछाउका जग्गाहरु त्यो कत्तिको व्यक्तिको नाममा जानेछन् तनहुँवासीले त्यो जान्न व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।
आशंका मिश्रित शुभकामना !








