व्यासको ल्यान्डफिल साइट जग्गा खरिद विवाद झनै बढ्दोः समितिका संयोजक बसन्त आले भन्छन् “ म उल्टो हिड्ने मान्छे”

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । लामो समयदेखि फोहोर मैला विर्सजनको समस्या झेलिरहेको तनहुँको व्यास नगरपालिका झन् झन् समस्या झेल्दै गईरहेको छ । कहिले नदी किनारमा थुपारेको फोहोरमा लागेको आगो बर्षौसम्म ननिभ्दा समस्यामा परेको छ भने कहिले पवित्र मठ, मन्दिर, पराशर आश्रम, व्यास गुफा, मादी र शुक्लाको दोभानभन्दा अलि माथि थुपार्दा देखिएको बिचल्लीले समस्या परेको छ । कहिले हप्तौसम्म फोहोर उठाउने ठाउँ नपाउदा समस्या परेर बजारभरि फोहोर थुप्रिदा समस्या परेको छ तर पनि समाजमा सुख दुःख बुझ्ने मान्छे हुन्छन् भने झै व्यास १० बासीको ठूलो मन भएर विविध कारण भएपनि दुम्सीको भतेरीमा कुहिने फोहोर प्रशोधन केन्द्र स्थापना भएको छ भने खासरी खेमराज अधिकारी (जयश्री हरि), अधिकारी बन्धुहरु र अन्य स्थानीयको फाराकिलो छाति बनाउनाले व्यास १ को माहिली डाँडा नजिकै नकुहिने फाहोर विसैजन गर्ने मौका मिलेको छ त र पनि नगरपालिकाको काम सकिएको छैन ।

स्थायी फोहोर सुधार केन्द्र स्थापना गर्नुपर्ने छ । त्यसैको लागि जग्गा खोज्नुपर्ने आवश्यकता रहेको छ । व्यास नगरपालिकाभित्रका सयौ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता भईसक्दा सबैको नगरपालिका अर्थात स्थानीय सरकारले हाल नगरपालिका कार्यालयको चौधेरोको २, ४ हजारौ रोपनी जग्गामा फाेहोर थुपारेको जति पनि सार्वजनिक जग्गा पाउन सकेको छैन । जग्गा किन्नुहुन्छ वा हुदैन भन्ने विवाद चलिरहको बेला जग्गा खरिद प्रक्रिया अगाडि बढाउनु हुदैन भन्दै अख्तियारमा उजुरी परेको छ भने नगरपालिकाले जवाफ पठाईसकेको छ ।

यस्तैमा नगरपालिकाकाे सरसफाई जग्गा व्यवस्थापान समितिका संयोजक एवं व्यास १३ का वडा अध्यक्ष बसन्त आलेले सामाजिक संजालमा एउटा लामो स्टाटस लेखेका छन् । सो स्टाटसमा आलेले ”जग्गा खरिद प्रकृयाको कानुनी पाटोको कुरा नगरिकन जग्गा खरिद प्रकृया रोक्न, भाँड्न स्वयं नगरपालिकाकै कर्मचारी र धेरै अदृश्य शक्तिहरु लागेको लेखेका छन्” । तर आलेले हिम्मत गरेर ती शक्तिहरु र ती कर्मचारीहरुको नाम भने तोक्न सकेका छैनन् । प्रस्तुत छ आलेको स्टाटसको सम्पादित अंशः

व्यास नगरपालिकाले ल्याएको उक्त योजना ल्यान्डफिल साइट (फोहोरलाई जमिनमा गाड्ने), डम्पिङ साइट (फोहोरलाई थुपार्ने) होइन, सूक्ष्म सरसफाई वर्गीकरण ( फोहोरलाई छुट्याउने) केन्द्र हो । छोटकरीमा सरसफाई केन्द्र भन्न सकिएला । त्यस केन्द्रमा गएका ९५ प्रतिशत सामग्रीहरू सुक्ष्म वर्गीकरण गरी, केही तहको प्रशोधन गरेर बिक्री गरिनेछ । यो 3R (Reduce, Recycle, Reuse) को आधुनिक मोडेलमा सञ्चालन हुने हो, धनगढी नगरपालिकामा जस्तै । कति वर्ष भयो व्यास नगरपालिका भएको ? सरसफाई व्यवस्थापन केन्द्र नभएको नगरपालिका शौचालय नभएको घरजस्तै हो । हामी कस्तो घरमा बसिरहेका छौं ? शौचालय चाहिने कसलाई हो ?
मलाई आदरणीय स्वः पुरुषोत्तम काफ्ले ( दमौली गाउँ पन्चायतका पुर्व प्रधानपन्च) बुबाले एक दिन सम्झाउँदै भन्नुभएको कुरा याद आयोः  बाबु बसन्त, तिमी सधैं नदीको उल्टो धारमा हिँड्छौ । आज पनि मेरो बानी उस्तै छ । ठिक लागे समर्थन गर्छु, बेठीक लागे गर्दिन । हाम्रो समाजमा यस्तो मान्छे उल्टै देखिन्छ ।
घटना नं. १ः सरसफाई जग्गा व्यवस्थापमन समितिको संयोजकमा चयन भएको थिएँ । एकजना वरिष्ठ अधिकृतज्यू, जसलाई म दाइ भन्छु, उहाँले भन्नुभयोः यो संयोजक बसेर कुनै काम छैन । यो काम तिम्रो कार्यकालमा सम्भव छैन । म उल्टो धारतिर गएँ ।
घटना नं. २ः जग्गा प्राप्ति (खरिद) को कुरा चलिरहेको थियो । एकजना स्थानीय नेताज्यूले भन्नुभयोः बसन्तजी त्यहाँ त सरसफाई केन्द्र बनाउने होइन, त्यहाँ त ४० रोपनीमा ४० वटा घर बनाउने हो । बरु तपाईँलाई पनि पार्टनर राख्छौं । नभए एक रोपनी तपाईँलाई पनि आउँछ । म उल्टो धारतिर गएँ ।
घटना नं. ३ः जग्गा खरिद गर्ने निर्णयको मसी सुक्न पनि पाएको थिएन, अख्तियारबाट चिठी आएको छ भनेर देखाउनुभयो । आफै डाक्टर आफै बिरामी ।  एक पाइला नचाल्दै तँ किन दौडिएको ? भने जस्तो लाग्यो । म उल्टो धारतिरै गएँ ।
घटना नं. ४ः कुहिने फोहोर अन्यत्रै व्यवस्थापन भैरहेको छ, १३ मा होइन भन्ने व्यास १३ का जनप्रतिनिधिहरूको अडान र केही वरिष्ठ कर्मचारीले कुहिनेपनि लैजाने भनेर नलेख्ने भए हामी साइन गर्दैनौं भनेपछि कर्मचारीकै दबाबमा त्यो लेखियो र कर्मचारी टोलमा गएर आफै यस्तो लेखिएको छ, विरोध गर्नुपर्छ भनेर भाषण गरे । आफै धामी आफै बोक्सी । त्यसैले म उल्टो धारतिरै गएँ ।
घटना नं. ५ः हामी मन्त्रालय गयौँ । यो फाइल आएको दुई वर्ष भयो । आजसम्म कुनै कर्मचारीले फलोअप गरेको छैन । मन्त्रालयका कर्मचारीको प्रश्न थियो :यो तपाईहरु व्यक्तिलाई चाहिएको हो कि व्यास नगरपालिकालाई ? व्यास नगरपालिकामा कर्मचारी छैनन् ?
घटना नम्बर. ६: सर्जिमिन मुचुल्का मेरै उपस्थितिमा भएको हो।त्यसमा लेखिएका कुराहरू पढेर सुनाइएकै हो सडक बन्छ, सुन्दर पार्क बन्छ, सूक्ष्म वर्गीकरण केन्द्र बन्छ र जथाभावी फोहोर हुँदैन भनेकै हो। सर्चिमिनमा दलबहादुर थापाको नाम लेखिएता पनि उहाँ सँग सम्पर्क भएन , त्यसैले उहाँको हस्ताक्षर छैन। नक्कली हस्ताक्षर गरेको भन्नेहरूलाई म प्रमाणित गर्न चुनौती दिन चाहन्छु। गलत झुठा ठहरिएमा सजाय भोग्न तयार छु।
मलाई थाहा छ, यसका पछाडि ठूलो गिरोह लागेको छ । कोही सस्तोमा जग्गा हत्याएर महँगोमा बेच्न चाहन्छ, कोही घर बनाएर बेच्न चाहन्छ, कोही ठूलै कमिसन चाहन्छ । म ढुक्क छु । साक्षी छन्, प्रमाण छन् । बिचरा सोझा जनतालाई मोहोरा बनाएको मात्रै हो । म जनतालाई दोषी देख्दिन। मलाई तिनै जनताले जिताएका होइनन् ? फेरि पनि मलाई जनता चाहिँदैनन् र ? मलाई स्वच्छ वातावरण चाहिँदैन र ? उक्त योजनाको वातावरणीय परीक्षण प्रतिवेदन अहिलेसम्म कसैले अध्ययन गर्नुभएको छ? नबिराउने, नडराउने र नतिजा देखाउने हाम्रो अभियान हो । बुझ्नेलाई इशारा काफी छ, नबुझ्नेलाई बुझाउनै बाँकी छ । केही गल्ती भए माफ पाउँ । धन्यवाद ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?