
काठमाण्डाै । पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार गरेकाे आराेपमा नेपाल प्रहरीले ३ जनालाई प्रकाउ गरेकाे छ । पत्रकार सिंहमाथि माघ २८ गते राति बझाङमा धारिलो हतियार प्रहार गरिएकाे थियाे ।
३३ वर्षीय सिंह नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष हुन् । प्रहरीले मष्टा गाउँपालिका वडा नं ४ का २६ वर्षीय विनोद कठायत, वडा नं २ का २८ वर्षीय नरेश द्वाल र वडा नं १ का २७ वर्षीय शितल कठायतलाई माघ २८ गते राति नै गिरफ्तार गरेको जनाएकाे छ ।
राति १० बजेको समयमा कोठामा गइरहेको अवस्थामा आरोपितहरुले आफूमाथि चक्कु प्रहार गरी घाइते बनाएको र कुटपिट समेत गरेको पीडित पत्रकार सिंहले बताएका छन् ।
उनी खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी हुन् । चक्कु प्रहार र कुटपिटबाट आँखा, टाउँको र हातमा चोट लागेर घाइते भएका पत्रकार सिंहको स्वास्थ्य उपचार जिल्ला अस्पताल बझाङमा गरिएको छ ।
घटनामा संलग्न आरोपितहरुलाई गिरफ्तार गरेर ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले बताए ।
पत्रकार सिंहको ज्यान मार्ने उद्धेश्यले गरिएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्नहरुलाई कारबाही गर्न महासंघले माग गरेकाे छ ।